मेरा प्यारा नबी

शोकको वर्ष

सन्तानको पीडा

प्यारा नबी (सल्लल्लाहु अलैहि व सल्लम)का जेठा छोरा कासिम सत्र महिनाको हुँदा वफात हुनुभएको थियो। यस पीडादायी घटनाको वर्षौँपछि अर्का छोरा अब्दुल्लाह पनि वफात हुनुभयो। हजुर रसूलुल्लाहका मुबारक आँखाबाट आँसु बग्दै गर्दा उहाँ पहाडतिर फर्केर भन्नुभयो: “हे पहाड! मलाई परेको कुरा तिमीलाई परेको भए तिमी सहन नसकेर ढल्ने थियौ!” यसरी उहाँले आफ्नो शोक प्रकट गर्नुभयो। हाम्री आमा हजरत खदीजाले “या रसूलल्लाह! उनीहरू अहिले कहाँ छन्?” भनेर सोध्नुहुँदा उहाँले भन्नुभयो: “उनीहरू जन्नतमा छन्।”

सारा सृष्टिका सुल्तान हाम्रा प्यारा नबीका दुवै छोरा वफात हुनुभएपछि मुशरिकहरू साह्रै खुसी भए। अबू जहलजस्ता काफिरहरूले मौका छोपेर चारैतिर हल्लीखल्ली मच्चाए: “अब मुहम्मद अब्तर भए, उनको वंश टुट्यो। उनको वंश धान्ने कुनै छोरा बाँकी रहेन। उनी आफैँ मरेपछि उनको नामोनिसान बिर्सिइनेछ।”

तब अल्लाह तआलाले सूरा कौसर नाजिल गरेर आफ्ना रसूललाई सान्त्वना दिनुभयो। भावार्थमा यसो भनियो: “(हे मेरा हबीब!) निःसन्देह, हामीले तिमीलाई कौसर दियौँ (कौसरको हौज, धेरै भलाइ दियौँ)। त्यसैले आफ्ना रबका लागि नमाज पढ र कुर्बानी गर… निश्चय नै भलाइविहीन र सन्तानविहीन त तिमीविरुद्ध (सन्तानविहीन भनेर) जिब्रो चलाउने नै हो। (तिमीलाई अब्तर भन्ने व्यक्ति आफैँ सन्तानविहीन, इज्जतविहीन र नामविहीन छ। तिम्रो कुरा गर्दा, हे मेरा हबीब, तिम्रो पवित्र वंश, तिम्रो शान र इज्जत कियामतको दिनसम्म रहिरहनेछ। आखिरतमा पनि तिम्रा लागि कल्पनामा नआउने धेरै ठूला सम्मान छुट्याइएका छन्।)”१

अबू तालिबको मृत्यु

हजुर रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम)का छोराहरूको वफातपछिका दिनमा अबू तालिब बिरामी परे र दिनप्रतिदिन उनको रोग बढ्दै गयो। यो सुनेर कुरैशका मुशरिकहरूले यसो सोचे: “अबू तालिबले जीवित रहुन्जेल मुहम्मदको संरक्षणमा निकै प्रयास गरे। अब उनको जाने बेला नजिकियो। अन्तिम घडीमा भए पनि उनलाई भेट्न जाऔँ। किनभने अरबहरूमा जोडा नभएका वीर हमजा र तेज, पहलमानी र निडरता घामझैँ प्रस्ट भएका उमर पनि मुसलमान भइसके। हरेक दिन अरब कबिलाबाट मानिसहरू आएर हुल-हुल गरी उनको पछि लागिरहेका छन्। यसरी मुसलमानहरू दिनदिनै बढ्दै छन्, उनीहरूको आवाज संसारभरि गुञ्जिँदै छ। यस्तो अवस्थामा कि त हामी उनीहरूको पछि लाग्नुपर्छ, कि युद्ध र लडाइँका लागि तयार रहनुपर्छ। अबू तालिबकहाँ गएर कुरा बताऔँ, उनले हाम्रो बीचमा मिलाप गराइदेऊन्। हामी उनको धर्ममाथि आक्रमण नगरौँ, उनी पनि हाम्रो धर्ममाथि नजाइलागून्।” यही सोचाइका साथ उनीहरू अबू तालिबकहाँ आए। उक्बा, शैबा, अबू जहल, उमय्या बिन खलफजस्ता चिनिएका मानिसहरू अबू तालिबको ओछ्यानको छेउका गद्दीहरूमा बसे र भने: “हामी तिम्रो महानता मान्छौँ, तिम्रो श्रेष्ठता स्वीकार गर्छौँ। त्यसैले हामीले तिम्रो कहिल्यै विरोध गरेनौँ। तिमी मरेपछि मुहम्मद हामीसँग झगडा गर्लान्, शत्रुता हाम्रा बीचमा चलिरहला भन्ने हामीलाई डर छ। हामीलाई मिलाइदेऊ, ताकि एकअर्काको धर्ममाथि आक्रमण नगरौँ।”

“हे पहाड! मलाई परेको कुरा तिमीलाई परेको भए तिमी सहन नसकेर ढल्ने थियौ!” हदीसे शरीफ

हाम्री आमा हजरत खदीजाको मकबरा / जन्नतुल मुअल्ला

इस्लामका धेरै महापुरुषका कब्रजस्तै हाम्रा प्यारा नबी “सल्लल्लाहु तआला अलैहि व सल्लम”की पहिलो श्रीमती, हाम्री आमा हजरत खदीजा “रदियल्लाहु अन्हा”को मकबरा पनि भत्काएर मेटाइएको छ।

अबू तालिबले प्यारा नबीलाई बोलाउन लगाएर भने: “कुरैशका सबै प्रमुखहरू तिमीसँग उनीहरूको धर्ममा हस्तक्षेप नगर्न बिन्ती गर्दै छन्। यो स्वीकार गर्‍यौ भने उनीहरू तिम्रो आदेशमा काम गर्नेछन्, तिम्रा सहयोगी हुनेछन्।” सारा संसारका सरदारले भन्नुभयो: “हे काका! म त उनीहरूलाई एउटा मात्र वचनतर्फ बोलाउन चाहन्छु; त्यस वचनले गर्दा सबै अरब उनीहरूको अधीनमा आउनेछन्, अरब नभएकाहरूले पनि जिज्या तिर्नेछन्।” अनि कुरैशका प्रतिष्ठित मानिसहरूलाई भन्नुभयो: “हो! तिमीहरूले मलाई एउटा वचन भन्यौ भने त्यसैले तिमीहरू सबै अरबमाथि शासन गर्नेछौ, अरब नभएकाहरू पनि तिमीहरूको अधीनमा आउनेछन्।” अबू जहलले भन्यो: “हुन्छ। त्यसलाई दस गुणा भनौँला। के रे त्यो वचन?” हजुर रसूलुल्लाहले “‘ला इलाह इल्लल्लाह’ भन्यौ र अल्लाह तआलाबाहेक पुज्दै आएका मूर्तिहरू फ्याँकिदियौ भने” भन्नुहुँदा मुशरिकहरूले तुरुन्तै भने: “हामीसँग योबाहेक अरू नै केही माग!…” प्यारा नबीले भन्नुभयो: “तिमीहरूले सूर्य ल्याएर मेरा हातमा राखिदियौ भने पनि म तिमीहरूसँग योबाहेक अरू केही माग्दिनँ।”

मुशरिकहरूले भने: “हे अबुल कासिम! तिमी साह्रै अचम्मको प्रस्ताव राख्छौ। हामी तिम्रो मान राख्न चाहन्छौँ; तिमी भने हाम्रो मन राख्दैनौ!” र उठेर गए। उनीहरू गएपछि अबू तालिबले प्यारा नबीलाई भने: “तिमीले कुरैशसँग मागेको कुरा एकदम ठीक थियो। तिमीले साँचो कुरा भन्यौ।” काकाको यो कुराले हजुर रसूलुल्लाहलाई आशा जगायो र अबू तालिब ईमानमा आउनेछन् भन्ने बुझेर उहाँले भन्नुभयो: “हे काका! एक पटक ‘ला इलाह इल्लल्लाह’ भन्नुहोस्!… ताकि कियामतको दिन म तपाईँका लागि शफाअत गरूँ।” अबू तालिबले “मृत्युदेखि डराएर मुसलमान भयो भनेर मानिसहरूले दोष लगाउलान् भन्ने मलाई डर छ। नत्र तिम्रो मन राखिदिने थिएँ” भन्दै यो कुरा आफ्नो नफ्सलाई भारी लागेको बताए र रोग झन्-झन् गम्भीर हुँदै गएपछि उनको मृत्यु भयो।२

हाम्री आमा हजरत खदीजाको वफात

बेसतको दसौँ वर्षमा, अबू तालिबको मृत्यु भएको तीन दिनपछि, हजुर रसूलुल्लाहको दुःखसुखको साथी, पच्चीस वर्षदेखिकी जीवनसाथी, हाम्री मुबारक आमा हजरत खदीजा पनि दुःख र पीडामा बितेको तीन वर्षको घेराबन्दीपछि, हिजरतभन्दा तीन वर्षअघि, रमजान महिनाको सुरुमा ६५ वर्षको उमेरमा वफात हुनुभयो।३ फख्रे कायनात (सल्लल्लाहु अलैहि व सल्लम)ले हाम्री आमा हजरत खदीजालाई आफ्नै मुबारक हातले दफन गर्नुभयो। उहाँको बिछोडले उहाँ साह्रै शोकाकुल हुनुभयो।

एउटै वर्षमा हाम्री आमा हजरत खदीजा र काका अबू तालिब एकपछि अर्को गरी संसारबाट जानुभएकाले प्यारा नबी शोकमा डुब्नुभयो। त्यसैले यस वर्षलाई “सनतुल हुज्न”, अर्थात् शोकको वर्ष भनियो।

हाम्री आमा हजरत खदीजाको वफातले हाम्रा प्यारा नबीलाई हल्लाइदियो र हदभन्दा बढी दुःखी बनायो। किनभने सबैभन्दा पहिले ईमान ल्याउने र हजुर रसूलुल्लाहलाई साँचो मान्ने उहाँ नै हुनुहुन्थ्यो। त्यसमाथि उहाँ प्यारा नबीको सबैभन्दा ठूलो सहारा र सान्त्वना दिने हुनुहुन्थ्यो। सबै शत्रु भएको बेला उहाँले आफ्नो सारा हृदय खोल्नुभएको थियो र हाम्रा नबीको मायाले भरिनुभएको थियो। आफ्नो सबै धन, सम्पत्ति, जे जति थियो, इस्लामका लागि खर्च गर्नुभएको थियो; हाम्रा प्यारा नबीको सेवा गर्न रातदिन एक गर्नुभएको थियो। रसूलुल्लाहलाई कहिल्यै दुःखी पार्नुभएन, कहिल्यै उहाँको मन दुखाउनुभएन। प्यारा नबी यो कुरा बेलाबेलामा सुनाउनुहुन्थ्यो र यसरी आफ्नी मुबारक श्रीमतीका गुण सम्झनुहुन्थ्यो।

“हे काका! एक पटक ‘ला इलाह इल्लल्लाह’ भन्नुहोस्!… ताकि कियामतको दिन म तपाईँका लागि शफाअत गरूँ” हदीसे शरीफ

एक दिन हाम्रा नबी बाहिर हुनुहुँदा हजरत खदीजा उहाँलाई खोज्न निस्कनुभएको थियो। जिब्रील अलैहिस्सलाम मानिसको रूपमा हजरत खदीजाको सामु देखा पर्नुभयो। हाम्री आमा हजरत खदीजाले उहाँसँग प्यारा नबीबारे सोध्न चाहनुभयो, तर शत्रुमध्येको कोही हुन सक्छ भन्ने सोचेर फर्किनुभयो। हाम्रा प्यारा नबीलाई घरमा देखेपछि भएको कुरा सुनाउनुभयो। फख्रे कायनातले भन्नुभयो: “तिमीले देखेका र मबारे सोध्न खोजेका ती व्यक्ति को हुनुहुन्थ्यो, थाहा छ? उहाँ जिब्रील (अलैहिस्सलाम) हुनुहुन्थ्यो। उहाँले तिमीलाई आफ्नो सलाम पुर्‍याइदिन भन्नुभयो। तिमीलाई यो कुरा पनि बताइदिन भन्नुभयो: जन्नतमा तिम्रा लागि मोतीले बनेको एउटा भवन तयार पारिएको छ। पक्कै पनि त्यहाँ यहाँजस्ता दुःखदायी, कष्टकर, झन्झटिला र भारी कुनै कुरा हुनेछैनन्।”

एउटाको हात हावामै अड्कियो, अर्को अन्धो भयो

हाम्रा प्यारा नबी (सल्लल्लाहु अलैहि व सल्लम) मानिसहरूमध्ये सबैभन्दा भाग्यमानी आफ्ना असहाबसँग अरू कतै नपाइने सङ्गत गरेर उहाँहरूका हृदय नूरले उज्यालो पार्नुहुन्थ्यो। नाजिल हुने आयते करीमाहरू व्याख्या गर्नुहुन्थ्यो, नबताइएको, नबुझिएको केही बाँकी राख्नुहुन्नथ्यो। साथै मुशरिकहरू पनि ईमानमा आऊन् भनेर उनीहरू भेला हुने ठाउँमा जानुहुन्थ्यो, नथाकी, नआत्तिई ईमानतर्फ बोलाउनुहुन्थ्यो। यसले अबू जहल र वलीद बिन मुगीरा साह्रै रिसाउँथे र भन्थे: “यसरी त मुहम्मदले सबैलाई आफ्नो धर्ममा फर्काउनेछन्, हाम्रा मूर्ति पुज्ने कोही बाँकी राख्नेछैनन्।” एक दिन उनीहरूले यो कुरा सिध्याउने एउटै उपाय सारा संसारका सरदार हाम्रा प्यारा नबीलाई मार्नु हो भन्ने निधो गरे। अबू जहल वलीद बिन मुगीरा र बनू मख्जूमका केही जवानलाई साथमा लिएर बैतुल्लाह आयो। त्यस बेला हाम्रा प्यारा नबी नमाज पढ्दै हुनुहुन्थ्यो। अबू जहल हातमा ढुङ्गा लिएर तुरुन्तै अघि झम्टियो। हबीबे अकरम र नबीए मुहतरममाथि ढुङ्गा बजार्न हात उठाउनासाथ उसका हात हावामै नचल्ने भए। केही गर्न सकेन र छक्क पर्‍यो। त्यसै हालतमा आएकै ठाउँमा फर्कियो। मुशरिकहरूको छेउमा पुगेपछि उसको हात पहिलेकै अवस्थामा आयो र ढुङ्गा भुइँमा खस्यो। बनू मख्जूममध्ये एकजनाले त्यही ढुङ्गा टिपेर “हेरिराख! उनलाई म मार्छु!…” भन्दै प्यारा नबीतिर बढ्यो। नजिक पुग्दा एक्कासि ऊ अन्धो भयो र वरिपरि केही देख्न सकेन। त्यसपछि बनू मख्जूम सबै सँगै हाम्रा प्यारा नबीतिर अघि बढे। प्यारा नबीको एकदम नजिक पुगेको क्षण उनीहरूले उहाँलाई देख्न छोडे। तर उहाँको मुबारक आवाज सुनिरहेका थिए। आवाज आएतिर हिँड्दा आवाज पछाडिबाट आउँथ्यो; पछाडि फर्किँदा फेरि अघिल्लै ठाउँबाट आउन थाल्थ्यो। यस्तो कुरा उनीहरूले केही पटक देखे। आखिर अलमलमा परेर हजुर रसूलुल्लाहलाई केही गर्न नसकी त्यो ठाउँ छोडेर गए।

हजरत आइशा र हजरत सौदासँग विवाहको कुरा

हजरत खदीजा (रदियल्लाहु अन्हा) वफात हुनुभएपछि रसूलुल्लाहको घर सम्हाल्ने कोही रहेन। खौला बिन्त हकीम खातून यो हाल देखेर सरवरे आलमको सामु जानुभयो र भन्नुभयो: “या रसूलल्लाह, (सल्लल्लाहु अलैहि व सल्लम)! तपाईँलाई सुहाउने एक साथी र तपाईँको सेवाको योग्य एक जीवनसङ्गिनी चाहिन्छ। तपाईँ चाहनुहुन्छ भने तपाईँका लागि एक जीवनसाथी माग्छु।” रसूलुल्लाहले भन्नुभयो: “हे खौला, यस सेवाको योग्य महिला कहाँ छन्?” खौलाले भन्नुभयो: “कन्या चाहनुहुन्छ भने तपाईँका साथी अबू बकरकी छोरी आइशा हुनुहुन्छ। विधवा चाहनुहुन्छ भने सौदा बिन्त जमआ उपयुक्त हुनुहुन्छ।” रसूल अलैहिस्सलामले भन्नुभयो: “दुवैलाई मेरा लागि माग।” रसूलुल्लाहको पहिले हजरत आइशासँग, त्यसपछि सौदासँग विवाहको कुरा छिनियो। हजरत सौदालाई उहाँले मक्कामै घरमा ल्याउनुभयो। हजरत आइशासँगको विवाह हिजरतको दोस्रो वर्षको शव्वाल महिनामा मदीनामा भयो।

अकबाको भेट

हाम्रा प्यारा नबी हरेक वर्ष काबाको जियारत गर्न आउने कबिलाहरूलाई धर्मतर्फ बोलाउनुहुन्थ्यो; उनीहरू जहन्नमको आगोबाट जोगिएर सदाको सुख पाऊन् भनेर प्रयास गर्नुहुन्थ्यो र हर किसिमको अपमानको वास्ता नगरी नुबुव्वतको कर्तव्य पूरा गरिरहनुहुन्थ्यो। कबिलाहरू बस्ने ठाउँमा उभिनुहुन्थ्यो र आउनेहरूलाई भन्नुहुन्थ्यो: “अल्लाह तआलाले दिनुभएको नुबुव्वतको कर्तव्य पूरा नगरुन्जेल मलाई आश्रय दिने र मलाई सहायता गर्ने को छ? (यसरी) उसलाई जन्नत दिइयोस्।” तर न आश्रय दिने कोही भेटिन्थ्यो, न सहायता गर्ने।

बेसतको दसौँ वर्षको जिलहिज्जा महिना थियो। प्यारा नबीले मेलामा काबाको जियारत गर्न आएका मदीनाका मानिसहरूको एउटा समूहसँग भेट गर्नुभयो। उहाँहरूलाई “तिमीहरू को हौ?” भनेर सोध्नुहुँदा उहाँहरूले आफू मदीनाका र खजरज कबिलाका भएको बताउनुभयो। हाम्रा नबीका हजुरबुबा अब्दुल मुत्तलिबकी आमा सलमा खातून पनि खजरज कबिलाको बनू नज्जार शाखाकी हुनुहुन्थ्यो। हाम्रा नबीले खजरजका यी छजनासँग अकबामा केही बेर बसेर उहाँहरूलाई सूरा इब्राहीमका ३५–५२औँ आयते करीमा पढेर सुनाउनुभयो र इस्लामबारे बताउनुभयो। यस धर्ममा पस्न निम्तो दिनुभयो।

मदीनामा पहिलेदेखि नै औस र खजरज कबिला यहूदीहरूका शत्रु थिए, मौका पाउनासाथ एकअर्कामाथि आक्रमण गर्थे। बीचमा कुनै झगडा परे यहूदीहरू भन्थे: “चाँडै एकजना नबी आउनुहुनेछ। धेरै बाँकी छैन, आज-भोलि नै प्रकट हुनुहुनेछ। हामी उहाँको पछि लागेर बलियो हुनेछौँ। अनि तिमीहरूलाई पनि ठेगान लगाउनेछौँ।” औस र खजरजका मानिसहरू पनि यहूदीहरूभन्दा पहिले मुसलमान भएर इस्लामको सौभाग्य पाए भने उनीहरूमाथि विजय पाउने र उनीहरूलाई मदीनाबाट निकाल्ने विश्वास गर्थे।

आफ्नो कबिलाका ठूला मानिसहरू र मदीनामा बस्ने यहूदीहरूबाट चाँडै एकजना नबी आउनुहुनेछ भन्ने सुनेका यी भाग्यमानी मानिसहरूले रसूले अकरम (सल्लल्लाहु अलैहि व सल्लम)मा नुबुव्वतका चिह्न देख्नुभयो र उहाँले धर्मतर्फ बोलाउनुहुँदा एकअर्कातिर हेर्नुभयो। त्यसपछि आपसमा भन्नुभयो: “यहूदीहरूले खबर दिएका नबी यिनै हुनुहुन्छ!”

त्यसैले उहाँहरू तुरुन्तै रसूलुल्लाहको सामु कलिमाए शहादत पढेर मुसलमान हुनुभयो। प्यारा नबीलाई पनि भन्नुभयो: “या रसूलल्लाह! हामीले आफ्नो कौमलाई यहूदीहरूसँग लडिरहेको अवस्थामा छोडेर आएका थियौँ। आशा छ, अल्लाह तआलाले तपाईँको बरकतले उनीहरूलाई पनि ईमानले धन्य बनाउनुहुनेछ। फर्कनासाथ हामी उनीहरूलाई र आफ्नो कौमलाई तपाईँको नुबुव्वत स्वीकार गर्न निम्तो दिनेछौँ। यस धर्मका हामीले स्वीकार गरेका कुरा उनीहरूलाई पनि बताउनेछौँ। यदि अल्लाह तआलाले उनीहरूलाई यस धर्ममा भेला गराएर एक बनाउनुभयो भने तपाईँभन्दा प्रिय र सम्मानित कोही हुनेछैन।”

यी छजनाले साँच्चै ईमान ल्याउनुभएको थियो; अल्लाह तआलाले हाम्रा नबीलाई बताउनुभएका कुरा स्वीकार गरेर साँचो मान्नुभएको थियो।

“अल्लाह तआलाले दिनुभएको नुबुव्वतको कर्तव्य पूरा नगरुन्जेल मलाई आश्रय दिने र मलाई सहायता गर्ने को छ? (यसरी) उसलाई जन्नत दिइयोस्” हदीसे शरीफ