असहाबे किरामको शिक्षा
मस्जिदे नबवी
प्यारा नबी (सल्लल्लाहु अलैहि व सल्लम) मदीना पाल्नुभएपछि सबैभन्दा पहिले आफ्ना असहाबलाई शिक्षा दिने र जमाअतसँग नमाज पढ्ने एउटा मस्जिद बनोस् भन्ने चाहनुहुन्थ्यो। त्यही बेला जिब्रील अलैहिस्सलाम आउनुभयो र भन्नुभयो: “या रसूलल्लाह! अल्लाह तआलाले तपाईँलाई आफ्ना लागि ढुङ्गा र काँचो इँटाको एउटा घर (मस्जिद) बनाउन आदेश दिनुभएको छ।” हबीबे अकरमले मदीना आइपुग्दा आफ्नो ऊँट कस्वा बसेको ठाउँ त्यसका मालिकहरूबाट तुरुन्तै किन्न चाहनुभयो। मालिकहरूले “या रसूलल्लाह! यसको मूल्य हामी जनाबे हकबाट मात्र आशा गर्छौँ। यो ठाउँ हामी अल्लाहको रजाका लागि तपाईँलाई उपहार दिन्छौँ” भन्दै त्यो ठाउँ त्यसै दिन साह्रै चाहे। तैपनि हजुरले यो कुरा स्वीकार गर्नुभएन र त्यसको मोल बढी नै हुने गरी तिरिदिनुभयो।१
एकातिर जग्गा सम्याइँदै थियो, अर्कोतिर काँचो इँटा काटिँदै थिए र ढुङ्गा ओसारिँदै थिए। आखिर सबै तयारी पूरा भएपछि जग हाल्न सबै भेला भए। जगको पहिलो ढुङ्गा मुहम्मद मुस्तफा (सल्लल्लाहु तआला अलैहि व सल्लम)ले आफ्ना मुबारक हातले राख्नुभयो। त्यसपछि पालैपालो भन्नुभयो: “अबू बकरले आफ्नो ढुङ्गा मेरो ढुङ्गाको छेउमा राखून्! उमरले आफ्नो ढुङ्गा अबू बकरको ढुङ्गाको छेउमा राखून्! उस्मानले आफ्नो ढुङ्गा उमरको ढुङ्गाको छेउमा राखून्! अलीले आफ्नो ढुङ्गा उस्मानको ढुङ्गाको छेउमा राखून्!” उहाँको आदेशअनुसार यो काम पूरा भएपछि त्यहाँ उपस्थित असहाबे किरामलाई भन्नुभयो: “तिमीहरू पनि आफ्ना ढुङ्गा राख।” उहाँहरूले पनि ढुङ्गा राख्न थाल्नुभयो।
मस्जिद बनाउँदा सबैभन्दा अगाडि हाम्रा प्यारा नबी र उहाँसँगै सारा असहाबे किराम नरोकिई, नबिसाई काम गर्नुभयो। उहाँहरूले आफ्ना मुबारक पिठ्युँमा ढुङ्गा र काँचो इँटा बोक्नुभयो। ढुङ्गाले जगलाई डेढ मिटर उठाएर माथि काँचो इँटाको गारो लगाउनुभयो। एक दिन हजुर रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) काँचो इँटा बोकेर लैजाँदै हुनुहुन्थ्यो। असहाबमध्ये एकजना उहाँकहाँ पुग्नुभयो र अत्यन्त अदबका साथ भन्नुभयो: “या रसूलल्लाह! यो इँटा मलाई बोक्न दिनुहुन्छ कि?” खातमुल अम्बियाले ती सहाबीलाई अझ बढी शिष्टतासाथ, सवाब कमाउनुपर्ने खाँचो आफूलाई नै बढी छ भनी बताउनुभयो र इँटा दिनुभएन। बरु ती सहाबीलाई पनि गएर ढुङ्गा ल्याउन सल्लाह दिनुभयो।
मस्जिदे नबवी बनाउँदा सबैभन्दा धेरै काम गर्नेहरूमध्ये एक हजुर रसूलुल्लाह नै हुनुहुन्थ्यो। उहाँ सबैभन्दा गह्रौँ चट्टान बोक्नुहुन्थ्यो र मुबारक छाती कसिएर सास फुल्दाफुल्दै पनि डकर्मीहरूकहाँ पुर्याउनुहुन्थ्यो। यी ढुङ्गा र इँटा बोक्दै गर्दा उहाँ यो काम कति मूल्यवान् छ र यसबाट कस्ता नियामत पाइनेछन् भन्ने खुसीको खबर सुनाएर आफ्ना असहाबको जोस बढाउनुहुन्थ्यो।
हजुरको यो मिहिनेत देखेर मुसलमानहरू ठूलो लगनका साथ काम गर्थे। अम्मार बिन यासिर त सबैले एक-एकवटा इँटा बोक्दा एउटा प्यारा नबीका लागि र अर्को आफ्नै लागि भनेर दुईवटा इँटा बोक्नुहुन्थ्यो। हजुर रसूलुल्लाहले यो देख्नुभयो र अम्मारकहाँ जानुभयो। आफ्ना मुबारक हातले हजरत अम्मारको पिठ्युँ मुसार्दै भन्नुभयो: “हे सुमय्याका छोरा! तिम्रा दुई सवाब छन्, अरूका एउटा।”
मस्जिदका पर्खाल छिट्टै तयार भए, छानो पनि हालियो। कोठाहरू अरबको चलनअनुसार खजुरका हाँगाले बनाइएका थिए र तिनका छाना रौँको राडीले ढाकिएका थिए। ढोकामा पर्दा मात्र झुन्ड्याइएको थियो। कोठाहरू मस्जिदको दक्षिणपूर्व र उत्तरतिर थिए। तीमध्ये धेरैजसोका ढोका मस्जिदतर्फ खुल्थे। तिनको छतको उचाइ मझौला कदको मानिसको उचाइभन्दा एक बित्ता बढी थियो। हजरत फातिमा र हजरत आइशाका कोठाबीच एउटा ढोका थियो। यसबाहेक मस्जिदसँगै जोडेर हजुर रसूलुल्लाहका लागि काँचो इँटाका दुईवटा कोठा बनाइए। तिनका छाना पनि खजुरका मुढा र हाँगाले ढाकिए। समय बित्दै जाँदा यी कोठा नौवटासम्म पुगे। मस्जिद बनिसकेपछि प्यारा नबी हजरत खालिद बिन जैदको घरबाट आफ्ना लागि बनाइएको घरमा सर्नुभयो।२
“मोमिनहरू त दाजुभाइ नै हुन्” हुजुरात: १०
या रसूलल्लाह!
आशिकहरूलाई सधैँ मत्त पार्ने
– तपाईँको मुहार हो, या रसूलल्लाह!
बिहान-बेलुका पीडाले सुस्केरा हाल्न लगाउने
– तपाईँको तिर्सना हो, या रसूलल्लाह!
दिनरात मलाई विलाप गराउने,
तिर्सनाको आगोले मेरो मन जलाउने,
हरेक घडी मेरा यी आँखा रुवाउने
– तपाईँको वियोग हो, या रसूलल्लाह!
असफियाले देखेको खुदाको कृपा,३
औलियाले भोगेको आनन्द र शान्ति,४
अम्बियाले पाएको उच्चता, हे शाह,
– तपाईँकै वैभव हो, या रसूलल्लाह!
म एक्लो भौँतारिनेमाथि दया गर्नुहोस्,
म अपराधी हुँ, कालो मुख भएकोमाथि कृपा गर्नुहोस्,
निसहाय र लाचारमाथि माया गर्नु
– तपाईँको बानी हो, या रसूलल्लाह!
हे पापीहरूको शफाअत गर्नुहुने, अहदको नूर!
नसूही तपाईँकै सेवक हो, उसलाई टाढा नपार्नुहोस्,
कृपा गर्नुहोस्, आफ्नो दयाको ढोकाबाट नफर्काउनुहोस्,
ऊ तपाईँकै उम्मत हो, या रसूलल्लाह!
नसूही उस्कुदारी
खजुरको मुढाको विलाप
मस्जिदे नबवीमा खजुरको एउटा मुढो ठड्याइएको थियो। प्यारा नबी शुक्रबारका दिन मस्जिदको हन्नाना नामको यही खम्बामा अडेस लागेर खुत्बा दिनुहुन्थ्यो।
पछि उहाँले तीन खुड्किलाको एउटा मिम्बर बनाउन लगाउनुभयो। एक शुक्रबार हजुर रसूलुल्लाह र असहाबे किराम मस्जिदे नबवीमा भेला हुनुभएको थियो। हजुर खुत्बाका लागि नयाँ मिम्बरमा चढ्नुहुँदा उहाँले पहिले अडेस लाग्ने गर्नुभएको खजुरको सुकेको मुढो सबैले सुन्ने गरी, गर्भिणी ऊँटनी रोएजस्तो स्वरमा रुन र कन्न थाल्यो। सारा असहाबे किराम छक्क परेर त्यो आवाज सुनिरहनुभयो। तर आवाज रोकिँदै रोकिएन। त्यसपछि सारा संसारका सरदार मिम्बरबाट ओर्लनुभयो र आफ्ना मुबारक हातले मुढालाई मुसार्नुभयो। त्यति नै बेला त्यसले रुन र कन्न छाड्यो। खजुरको सुकेको मुढाले हाम्रा नबीलाई यति माया र प्रेम गरेको देखेर सहाबीहरूले आँसु थाम्न सक्नुभएन।
यस घटनाबारे हजरत अनस बिन मालिकले “त्यसको आवाजले मस्जिदसमेत थर्कियो” भन्नुभएको छ, इब्ने अबी वदाआले पनि “खजुरको मुढो चर्किएर आफ्नो ठाउँबाट हल्लियो। हजुर रसूलुल्लाह आउनुभयो र त्यसमाथि आफ्नो मुबारक हात राख्नुभयो; त्यसपछि मात्र त्यो चुप लाग्यो” भन्नुभएको छ।
प्यारा नबीले भन्नुभयो: “जसको कुदरतको हातमा मेरो ज्यान छ, उहाँ अल्लाह तआलाको कसम खान्छु, यदि मैले यसलाई नमुसारेको भए मेरो तिर्सना र शोकले यो कियामतसम्म यसरी नै रोइरहने थियो।” अर्को रिवायतमा यस्तो बताइएको छ: रसूल अलैहिस्सलामले खजुरको सुकेको मुढातिर फर्केर भन्नुभयो: “चाहन्छौ भने तिमीलाई तिमी भएकै बगैँचामा फर्काइदिन्छु; फेरि हाँगाबिँगा हाल र पहिलेकै अवस्थामा फर्क। चाहन्छौ भने तिमीलाई जन्नतमा रोपिदिन्छु, अनि अल्लाह तआलाका मित्रहरूले तिम्रा फल खाऊन्।” हजुर रसूलुल्लाहले कान थाप्नुभयो र त्यसले यसो भनेको सुन्नुभयो: “मलाई जन्नतमा रोपिदिनुहोस्; अल्लाह तआलाका मित्रहरूले मबाट खाऊन् र म कहिल्यै पुरानो नहुने, नसड्ने ठाउँमा रहूँ।” रुखको यो कुरा प्यारा नबीको छेउमा भएकाहरूले पनि सुने। त्यसपछि हजुर रसूलुल्लाहले त्यसलाई “तिमीले चाहेजस्तै गर्छु” भनेर जवाफ दिनुभयो। अनि आफ्ना असहाबतिर फर्केर भन्नुभयो: “यसले दारे फना (यो संसार)को सट्टा दारे बका रोज्यो।”५ त्यसपछि रसूलुल्लाहको आदेशअनुसार खजुरको मुढो गाडियो।
परिवारका सदस्यहरूको मदीना आगमन
सरवरे आलम (सल्लल्लाहु अलैहि व सल्लम) र हजरत अबू बकरले हिजरत गर्नुहुँदा आफ्ना छोराछोरीलाई मक्कामै छोड्नुभएको थियो। इमाम बुखारीले रिवायत गर्नुभएको हदीसे शरीफमा हजरत आइशाले भन्नुभयो: हजुर रसूलुल्लाहले मलाई भन्नुभयो: “हे आइशा! तिमी मलाई सपनामा दुई पटक देखाइएकी थियौ। सायद मैले हरियो रेशमी कपडाको एउटा टुक्रामा तिम्रो चित्र देखेको थिएँ, र मलाई ‘यो चित्र जसको हो, उनी तिम्री भावी पत्नी हुन्’ भनिएको थियो।” यस सपनापछि (हाम्री आमा हजरत खदीजाको वफातको एक वर्षपछि) मक्कामै छँदा प्यारा नबी र हाम्री आमा हजरत आइशाको विवाहको कुरा छिनिएको थियो। तर बिहे भने भइसकेको थिएन। हाम्री आमा हजरत आइशाले यो कुरा यसरी सुनाउनुभयो: “रसूलुल्लाह मदीनामा हिजरत गर्नुहुँदा हामीलाई र आफ्ना छोरीहरूलाई मक्कामै छोड्नुभएको थियो। मदीनालाई धन्य बनाउनुभएपछि उहाँले आफूले मुक्त गर्नुभएका दास जैद बिन हारिसा र अबू राफेलाई दुईवटा ऊँट र आवश्यक पर्न सक्ने सामान किन्न ५०० दिरहम खर्च दिएर हामीकहाँ पठाउनुभयो।
मेरा बुबाले पनि अब्दुल्लाह बिन उरैकितलाई दुई-तीनवटा ऊँटसहित उहाँहरूसँग पठाउनुभयो र मेरा दाजु अब्दुल्लाहलाई पत्र लेखेर आमालाई, मलाई र मेरी दिदी अस्मालाई ऊँटमा चढाएर पठाउन आदेश दिनुभयो। म, मेरी आमा उम्मे रूमान, रसूलुल्लाहका छोरीहरूमध्ये हजरत फातिमतुज जहरा र उम्मे कुलसूम, उहाँकी श्रीमती सौदा, उम्मे ऐमन र उसामा सबै सँगै बाटो लाग्यौँ। कुदैद भन्ने ठाउँमा पुग्दा जैदले ५०० दिरहममा अरू तीनवटा ऊँट किन्नुभयो। काफिलामा तल्हा बिन उबैदुल्लाह पनि सामेल हुनुभयो। मिनाबाट बैद भनिने ठाउँमा पुग्दा मेरो ऊँट भाग्यो। म हौदाभित्र थिएँ। आमा पनि मेरै छेउमा हुनुहुन्थ्यो। आमा ‘हाय मेरी नानी! हाय मेरी दुलही!’ भन्दै छटपटाइरहनुभएको थियो। अल्लाह तआलाले हाम्रो ऊँटलाई शान्त पारिदिनुभयो र हामीलाई बचाउनुभयो। आखिर हामी मदीना आइपुग्यौँ। म बुबाको परिवारसँगै ओर्लिएँ। हजुर रसूलुल्लाहका परिवारजन भने उहाँका कोठाहरूअगाडि ओर्लनुभयो।”
“यदि मैले (हन्नानालाई) अँगालो नहालेको भए मसँगको बिछोडले गर्दा यो कियामतसम्म रोइरहने थियो” हदीसे शरीफ
हाम्री आमा हजरत आइशा पनि केही समय आफ्ना बुबा हजरत अबू बकरको घरमा बस्नुभयो। बिहेचाहिँ बद्रको गजवापछि भयो।
कति भाग्यमानी हुन् ती मानिस,
जसको पढाइ नै कुरआन होस्!
अजान र इकामत सुन्दा
जसको मन ईमानले भरियोस्!
अजाने मुहम्मदी
मस्जिदे नबवी बनिसकेपछि नमाजका बेला, समय भयो भनेर जनाउने र मुसलमानहरूलाई मस्जिदमा बोलाउने कुनै तरिका थिएन। केवल “अस्सलातु जामिआ (आऊ, नमाजमा)” भनिन्थ्यो।
एक दिन हजुर रसूलुल्लाहले आफ्ना असहाबसँग सल्लाह गर्नुभयो र नमाजका समयमा मोमिनहरूलाई मस्जिदमा कसरी बोलाउनुपर्ला भनेर सोध्नुभयो। कसैले नमाजको समय जनाउन इसाईहरूले जस्तै नाकूस अर्थात् घण्टी बजाऔँ भने; कसैले यहूदीहरूले जस्तै नरसिङ्गा बजाइयोस् भने। अरू कसैले “नमाजको समयमा आगो बालेर माथि उचालौँ” भनेर आफ्नो विचार राखे। हजुर रसूलुल्लाहले तीमध्ये कुनै पनि स्वीकार गर्नुभएन।६
अब्दुल्लाह बिन जैद बिन सालबा र हजरत उमरले सपनामा अजान दिइएको देख्नुभयो। हजरत अब्दुल्लाह हाम्रा प्यारा नबीकहाँ आउनुभयो र आफ्नो सपना यसरी सुनाउनुभयो: “हरियो सल र पटुका बाँधेका, हातमा घण्टी लिएका एकजना व्यक्ति मैले देखेँ। मैले उहाँलाई सोधेँ: ‘तिम्रो हातको घण्टी बेच्छौ?’ उहाँले भन्नुभयो: ‘के गर्छौ?’ ‘नमाजका समय जनाउन बजाउँछु’ भनेपछि ती व्यक्तिले भन्नुभयो: ‘म तिमीलाई योभन्दा असल कुरा सिकाइदिन्छु।’ अनि किब्लातिर फर्केर ठूलो स्वरमा ‘अल्लाहु अकबर, अल्लाहु अकबर…’ भन्दै पढ्न थाल्नुभयो। सिध्याएपछि ‘नमाजका लागि उठ्न लाग्दा पनि’ भन्नुभयो र अजानलाई फेरि दोहोर्याउनुभयो, अन्त्यतिर ‘कद कामतिस्सलातु’ भन्ने वाक्य थप्नुभयो।”
यो सुनेर हजुर रसूलुल्लाहले भन्नुभयो: “यो सपना सत्य हो। ती शब्द बिलाललाई सिकाऊ, पढून्!” यसलाई अजान नाम दिइयो।७
हजरत बिलाल मस्जिदे शरीफनजिकैको एउटा अग्लो छानामा चढ्नुभयो र सिकाइएकै शब्दमा पहिलो अजान दिनुभयो।
अजानको आवाज सुन्नासाथ हजरत उमर दौडँदै हजुर रसूलुल्लाहको सामु आउनुभयो र हजरत बिलालले भन्नुभएका शब्द आफूले सपनामा ठ्याक्कै त्यस्तै देखेको कुरा बिन्ती गर्नुभयो। त्यस रात असहाबे किराममध्ये केहीले पनि त्यही सपना देख्नुभएको थियो। ठीक यसै बेला सूरा जुमुआको ९औँ आयते करीमा नाजिल भयो र यो कुरा वहीमार्फत पनि बताइयो।
एक दिन फज्रको नमाजको समयमा बिलाल हबशीले हाम्रा प्यारा नबीको ढोकाअगाडि “अस्सलातु खैरुम मिनन्नौम”८ भनेर दुई पटक पुकार्नुभएको थियो। प्यारा नबीले यो मन पराउनुभयो र भन्नुभयो: “बिलाल, कति राम्रो कुरा! फज्रको अजान दिँदा यो पनि भन।” यसरी फज्रको अजानमा यो वाक्य पनि भन्न थालियो।
हाम्रा नबीको वफातसम्म मुअज्जिनको काम गर्नुभएका बिलाल हबशीको स्वर गहकिलो, साह्रै मीठो र मन छुने थियो। उहाँले अजान दिन थाल्नुहुँदा सबै जना ठूलो प्रेम र तन्मयतामा डुबेर सुन्थे र आफैँलाई बिर्सन्थे। अजान दिँदा उहाँ सबैलाई रुवाउनुहुन्थ्यो।
असहाबे किरामले नमाजका समयमा अजाने मुहम्मदी दिएर एकअर्कालाई मस्जिदमा बोलाएको मदीनाका मुशरिक र यहूदीहरूलाई निकै अनौठो लाग्यो। अजान दिइँदा उनीहरू खिल्ली उडाउँथे, ठट्टा गर्थे। उनीहरूको यस्तो उपहासको जवाफमा अल्लाह तआलाले कुरआने करीममा भावार्थमा भन्नुभयो: “तिमीहरू अजान दिएर नमाजतर्फ बोलाउँदा उनीहरू त्यसलाई खेल र तमासा बनाउँछन्। यो उनीहरू बुद्धि नपुग्ने कौम भएकाले हो।”९
ती मुअज्जिनले पुकारे, उभिएर इकामत भने,
काबातिर मुख फर्काए र नियत पनि गरे।
अहले ईमानले सुन्नेबित्तिकै आदरले कान थापे,
अनि नमाजमा उभिएर रबको बन्दगी गरे।
असहाबे सुफ्फा
प्यारा नबीले मस्जिदे नबवीको उत्तरी पर्खालमा खजुरका हाँगाले एउटा छहारी बनाउन लगाउनुभयो। मक्काबाट हिजरत गरेर आएका, धनसम्पत्ति केही नभएका अविवाहित सहाबीहरू यहीँ सुत्ने-बस्ने गरून् भनी आदेश दिनुभयो।१० यी अविवाहित सहाबीहरू र अन्सार तथा मुहाजिरहरूमध्येका गरिबहरू मस्जिदे नबवीको छेउमा रहेको सुफ्फा भनिने ठूलो टहरामुनि बस्नुहुन्थ्यो र ज्ञान सिक्ने-सिकाउने काममा लाग्नुहुन्थ्यो। उहाँहरूको सङ्ख्या दसदेखि चार सयसम्म घटबढ भइरहन्थ्यो; प्रायः सत्तरीजना हुनुहुन्थ्यो। यी सहाबीहरू हजुर रसूलुल्लाहको साथ कहिल्यै छोड्नुहुन्नथ्यो, उहाँको सङ्गतबाट कहिल्यै पछि पर्नुहुन्नथ्यो। दिनरात कुरआने करीम पढ्ने, ज्ञान सिक्ने र हदीसे शरीफ कण्ठ गर्ने गर्नुहुन्थ्यो। धेरैजसो दिन रोजा बसेर बिताउनुहुन्थ्यो; इबादत र आज्ञापालनबाट एक क्षण पनि अलग हुनुहुन्नथ्यो। यहाँ तयार भएकाहरूलाई भर्खरै मुसलमान भएका कबिलाहरूकहाँ पठाइन्थ्यो; उहाँहरू ती कबिलालाई कुरआने करीम र सुन्नते शरीफहरू, अर्थात् दीने इस्लाम सिकाउनुहुन्थ्यो। साह्रै धेरै असल गुणका धनी यी मुबारक सहाबीहरू ज्ञानको एउटा ठूलो सेना हुनुहुन्थ्यो। प्यारा नबी उहाँहरूलाई धेरै माया गर्नुहुन्थ्यो, उहाँहरूसँग बसेर कुराकानी गर्नुहुन्थ्यो र सँगै खाना खानुहुन्थ्यो। यहाँ बस्नेहरूलाई “असहाबे सुफ्फा” भनिन्थ्यो। एक दिन हजुर रसूलुल्लाहले असहाबे सुफ्फालाई हेर्नुभयो र उहाँहरू साह्रै गरिब हुनुहुन्छ भन्ने सोच्नुभयो। यस्तो हालतमा पनि उहाँहरू मनको शान्ति र उज्यालोका साथ इबादत गरिरहनुहुन्थ्यो। प्यारा नबीले उहाँहरूमाथि दया गरेर भन्नुभयो: “हे सुफ्फाका असहाब! तिमीहरूलाई खुसीको खबर छ! यदि मेरो उम्मतमा तिमीहरू परेको यस कठिन अवस्थामा राजी रहने कोही बाँकी रह्यो भने ऊ अवश्य नै मेरा साथीहरूमध्येको हो।”
“तिमीहरू अजान दिएर नमाजतर्फ बोलाउँदा उनीहरू त्यसलाई खेल र तमासा बनाउँछन्। यो उनीहरू बुद्धि नपुग्ने कौम भएकाले हो” माइदा: ५८
हबीबे अकरम (सल्लल्लाहु अलैहि व सल्लम) सबैभन्दा पहिले आफ्ना यी छानिएका असहाबका आवश्यकता पूरा गर्नुहुन्थ्यो, त्यसपछि मात्र आफ्ना अहले बैतका खाँचो टार्ने प्रयास गर्नुहुन्थ्यो। अबू हुरैराले यसरी सुनाउनुभयो: “जसबाहेक अरू कोही इलाह छैन, उहाँ अल्लाह तआलाको कसम खान्छु, म कहिलेकाहीँ भोकले पेट भुइँमा टेकाउँथेँ, कहिलेकाहीँ भुइँबाट टिपेको ढुङ्गा पेटमा थिच्थेँ। त्यस दिन पनि म त्यस्तै अवस्थामा थिएँ। रसूलुल्लाह मस्जिद जाँदा हिँड्ने बाटोमा बसिरहेको थिएँ। त्यत्तिकैमा सारा संसारका लागि रहमत बनाएर पठाइनुभएका, दुवै जहानका शोभा नूर छर्दै मेरो छेउमा आउनुभयो। मेरो हालत बुझेर मुस्कुराउनुभयो र भन्नुभयो: ‘हे अबू हुरैरा!’ मैले ‘मेरो ज्यान तपाईँमाथि कुर्बान होस्, हजुर, या रसूलल्लाह!’ भनेपछि उहाँले भन्नुभयो: ‘मसँगै आऊ।’ म तुरुन्तै उहाँको पछि-पछि हिँडेँ। उहाँ आफ्नो धन्य घरभित्र पस्नुभयो। घरमा एक कचौरा दूध थियो। ‘जाऊ, अहले सुफ्फाकहाँ जाऊ। उनीहरूलाई मकहाँ बोलाएर ल्याऊ’ भन्नुभयो। उनीहरूलाई बोलाउन जाँदै गर्दा म मनमनै सोच्दै थिएँ: ‘एक कचौरा दूधले सारा अहले सुफ्फालाई कसरी पुग्ला? मेरो भागमा एक घुट्को पनि पर्ला र?…’ मैले उनीहरूलाई बोलाएँ; हामी त्यो धन्य घरमा आयौँ, अनुमति मागेर भित्र पस्यौँ। सबै आ-आफ्नो ठाउँमा बसेपछि हजुर रसूलुल्लाहले भन्नुभयो: ‘हे अबू हुरैरा! यो दूधको कचौरा लेऊ र उनीहरूलाई देऊ!’ मैले कचौरा लिएँ र पालैपालो साथीहरूलाई दिँदै गएँ। हरेकले कचौरा लिन्थे, अघाउन्जेल पिउँथे र मलाई फर्काउँथे। हरेकबाट फिर्ता लिँदा म कचौराको दूध अलिकति पनि नघटेको, जस्ताको तस्तै भरिएकै देख्थेँ। यसरी आएका सबै साथीहरूलाई मैले दूध दिएँ। सबैले पिएर अघाए। त्यसपछि रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम)ले कचौरा लिनुभयो, मतिर हेरेर मुस्कुराउनुभयो र भन्नुभयो: ‘हे अबू हुरैरा! दूध नपिउने अब म र तिमी मात्र बाँकी छौँ। ल, तिमी पनि बस र पिऊ!’ म बसेँ र पिएँ। ‘अझै पिऊ!’ भन्नुभयो; मैले पिएँ। हजुरले केही पटक ‘पिऊ’ भन्नुभयो, म पनि हरेक पटक पिएँ। अन्त्यमा मैले भनेँ: ‘या रसूलल्लाह! मेरा आमाबुबा तपाईँमाथि कुर्बान होऊन्! अब म पिउन सक्दिनँ। तपाईँलाई सत्य धर्मसहित पठाउनुहुने अल्लाह तआलाको कसम खान्छु, म राम्ररी अघाएँ।’ ‘त्यसो भए कचौरा मलाई देऊ’ भन्नुभयो। मैले दिएँ। उहाँले अल्लाह तआलाको हम्द र प्रशंसा गर्नुभयो, अनि बिस्मिल्लाह भनेर दूध पिउनुभयो।”
मस्जिदमा हजुर रसूलुल्लाहको एउटा पनि सङ्गत नछुटाई ज्ञान सिक्ने यी विशिष्ट असहाबलाई मदीनाका सहाबीहरू अरू कतै नदेखिएको माया गर्नुहुन्थ्यो। एक बेलुका भोकले शरीरमा बल नै नरहेका सुफ्फाका एकजना सहाबी हजुर रसूलुल्लाहको सामु आउनुभयो र आफ्नो अवस्था बिन्ती गर्नुभयो। प्यारा नबीले आफ्नो धन्य घरमा खाने केही छ कि छैन भनेर सोध्नुभयो। “अहिले घरमा पानीबाहेक खाने अरू केही छैन” भन्ने जवाफ पाएपछि त्यहाँ उपस्थित असहाबलाई भन्नुभयो: “यो भोकाएको मानिसलाई कसले पाहुना राख्छ?” असहाबे किराममध्ये मदीनाका एकजना सबैभन्दा पहिले अघि सर्नुभयो र भन्नुभयो: “या रसूलल्लाह! मेरा आमाबुबा तपाईँमाथि कुर्बान होऊन्! उहाँलाई म पाहुना राख्छु।” पाहुनालाई लिएर घर पुगेपछि उहाँले आफ्नी श्रीमतीलाई भन्नुभयो: “हजुर रसूलुल्लाहका पाहुनाको सत्कार गर्ने केही तयार गर।” श्रीमतीले जवाफ दिनुभयो: “अहिले हाम्रो घरमा केटाकेटीले खाने खानाबाहेक अरू केही छैन।” “पहिले केटाकेटीलाई सुताऊ, अनि त्यो खाना ल्याऊ” भन्दै ती सहाबी एकजनालाई मात्र पुग्ने त्यो खाना लिएर पाहुनाको कोठामा पस्नुभयो। खाना पस्केर पाहुनालाई खान डाक्नुभयो। सँगै खान सुरु गरेपछि उहाँ उठ्नुभयो र दियो मिलाएझैँ गरेर निभाइदिनुभयो। अनि अँध्यारोमै फेरि खानाको छेउमा बस्नुभयो। खाएजस्तो गर्दै पाहुना नअघाउन्जेल पर्खिरहनुभयो। पाहुना अघाएपछि खाना उठाउनुभयो। त्यो रात उहाँहरूले आफ्ना केटाकेटीसँगै भोकै बिहान पार्नुभयो। बिहान प्यारा नबीको सामु पुग्नुहुँदा उहाँले भन्नुभयो: “अल्लाह तआला तिमीहरूको हिजो रातिको व्यवहारबाट खुसी हुनुभयो।” त्यसपछि अल्लाह तआलाले सूरा हश्रको ९औँ आयते करीमा पठाउनुभयो र भावार्थमा भन्नुभयो: “उनीहरू (अन्सार), आफूमा गरिबी र अभाव भए पनि (मुहाजिरहरूलाई) आफ्नै ज्यानभन्दा माथि राख्छन्।”
मिसरा:
जे-जस्तो होस्, मित्रका कुरा गर्नु नै झन् मीठो!
हृदयहरूका सुल्तानको सङ्गत
फख्रे कायनात (सल्लल्लाहु अलैहि व सल्लम) आफ्ना असहाबे किरामलाई तयार पार्न र परिपक्व बनाउन मस्जिदे नबवीमा उहाँहरूलाई आफ्नो अतुलनीय सङ्गतमा राख्नुहुन्थ्यो र अल्लाह तआलाले आफूलाई दिनुभएका फैज र बरकत उहाँहरूका हृदयमा बगाउनुहुन्थ्यो। प्यारा नबीको सङ्गतमा बस्ने सौभाग्य पाउनेहरू पहिलो सङ्गतमै आफ्नो हृदयमा ठूलो परिवर्तन महसुस गर्नुहुन्थ्यो र अत्यन्त उच्च इलाही मारिफतमा पुग्नुहुन्थ्यो। यी सङ्गतको बरकतले असहाबे किराम सबैभन्दा पहिले हाम्रा प्यारा नबीलाई र त्यसपछि सबै सहाबी साथीहरूलाई आफ्नो ज्यानभन्दा बढी माया गर्न थाल्नुहुन्थ्यो। अल्लाह तआलाले आयते करीमाहरूमा उहाँहरूको प्रशंसा गर्नुभएको छ। उहाँहरू हजुर रसूलुल्लाहको सामु अत्यन्त अदब र होसियारीका साथ यसरी बस्नुहुन्थ्यो, मानौँ टाउकोमा चरा बसेको छ र अलिकति हल्लिनासाथ उडिहाल्नेछ। यसरी असहाबे किराम नबीहरू र ठूला फरिश्ताहरूपछि सारा सृष्टिमध्ये सबैभन्दा श्रेष्ठ र सबैभन्दा उच्च बन्नुभयो। हजुर रसूलुल्लाह आफ्ना असहाबलाई हाम्रो धर्मका आदेश र निषेधहरू मसिनो गरी केलाएर बताउनुहुन्थ्यो, सिकाउनुहुन्थ्यो। ईमान र इस्लामका सर्तहरू; नमाज, रोजा, हज र जकातसम्बन्धी सबै हुकुमहरू; आयते करीमाहरूको तफ्सीर; हराम र हलाल खानेकुरा र लुगा; कसम, मन्नत११ र कफ्फारा, किनबेचसम्बन्धी ज्ञान; खानपिन, लुगा लगाउने, भेटघाट-कुराकानी र सलाम गर्ने अदब; छिमेकी, नातागोता र मित्रताका सम्बन्ध; विवाह, भरणपोषण, उत्तराधिकार र अंशबन्डाका हुकुमहरू; मुद्दामामिला, सजाय, सम्झौता र साझेदारी; स्वास्थ्यसम्बन्धी ज्ञान; शत्रुसँगको भिडन्त, युद्धका नियम… यसरी आखिरत र दुनियाँसँग सम्बन्धित, दीने इस्लामका सबै ज्ञान कदेखि ज्ञसम्म सबैले बुझ्ने गरी बताउनुहुन्थ्यो र महत्त्वपूर्ण ठान्नुभएको कुरा तीन पटक दोहोर्याउनुहुन्थ्यो।१२ महिलासम्बन्धी कुराहरू भने आफ्ना मुबारक पत्नीहरूमार्फत सिकाउनुहुन्थ्यो।
जिब्रीलको हदीसे शरीफ
मुसलमानहरूका वीर इमाम, असहाबे किरामका उच्च व्यक्तित्वमध्ये एक, सधैँ साँचो बोल्ने भनेर प्रसिद्ध, हाम्रा प्रिय अग्रज उमर बिन खत्ताब रदियल्लाहु अन्हु भन्नुहुन्छ:
“त्यो यस्तो एउटा दिन थियो; असहाबे किराममध्ये हामी केहीजना हजुर रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम)को सामु, उहाँको सेवामा थियौँ। त्यो दिन, त्यो घडी यस्तो सम्मानित, यस्तो बहुमूल्य र फेरि कहिल्यै हात नलाग्ने दिन थियो। त्यस दिन रसूलुल्लाहको सङ्गतमा, उहाँको छेउमा बस्ने सम्मान पाउने र रूहहरूका लागि आहार बनेको, ज्यानलाई आनन्द र शान्ति दिने उहाँको सुन्दर मुहार हेर्ने सौभाग्य मिलेको थियो। (यस दिनको सम्मान र मूल्य बताउन उहाँले ‘त्यो यस्तो एउटा दिन थियो…’ भन्नुभयो। जिब्रील अलैहिस्सलामलाई मानिसको रूपमा देख्न, उहाँको आवाज सुन्न र बन्दाहरूलाई चाहिने ज्ञान रसूलुल्लाहको मुबारक मुखबाट अत्यन्त सुन्दर र स्पष्ट रूपमा सुन्न पाइएको दिनजस्तो सम्मानित र बहुमूल्य समय अरू कहाँ पाइन्छ र?)
“हे सुफ्फाका असहाब! तिमीहरूलाई खुसीको खबर छ! यदि मेरो उम्मतमा तिमीहरू परेको यस कठिन अवस्थामा राजी रहने कोही बाँकी रह्यो भने ऊ अवश्य नै मेरा साथीहरूमध्येको हो” हदीसे शरीफ
त्यही बेला उदाउँदो जूनजस्ता एकजना व्यक्ति हाम्रो छेउमा आउनुभयो। उहाँको लुगा एकदमै सेतो र कपाल निकै कालो थियो। उहाँमा धुलो, माटो, पसिनाजस्ता यात्राका कुनै चिह्न देखिँदैनथे। रसूलुल्लाहका असहाब भएका हामी कसैले पनि उहाँलाई चिन्दैनथ्यौँ। अर्थात् उहाँ हामीले देखेका-चिनेका मानिसमध्येका हुनुहुन्नथ्यो। उहाँ रसूलुल्लाहको सामु बस्नुभयो र आफ्ना घुँडा रसूलुल्लाहका मुबारक घुँडासँग जोड्नुभयो। (आउनुभएका ती व्यक्ति जिब्रील हुनुहुन्थ्यो। उहाँले मानिसको रूप लिनुभएको थियो। जिब्रील अलैहिस्सलाम यसरी बस्नुको उद्देश्य एउटा महत्त्वपूर्ण कुरा बताउनु थियो। अर्थात् धार्मिक ज्ञान सिक्न लजाउनु ठीक होइन र उस्तादलाई घमण्ड र अहङ्कार सुहाउँदैन भन्ने यसले देखाउँछ। हरेकले धर्मबारे आफूले सिक्न चाहेका कुरा शिक्षकहरूसँग खुलेर, नधकाई सोध्नुपर्छ भन्ने कुरा जिब्रील अलैहिस्सलामले आफ्नो यस व्यवहारबाट असहाबे किरामलाई बताइरहनुभएको छ। किनभने धर्म सिक्नमा लजाउनु र अल्लाह तआलाको हक तिर्नमा, सिकाउनमा र सिक्नमा सङ्कोच गर्नु ठीक हुँदैन।)
ती सम्मानित व्यक्तिले आफ्ना हात रसूले अकरमका मुबारक घुँडामाथि राख्नुभयो र भन्नुभयो: ‘या रसूलल्लाह! मलाई इस्लाम के हो, मुसलमान हुनु भनेको के हो, बताइदिनुहोस्।’
रसूले अकरमले भन्नुभयो: ‘इस्लामका सर्तहरूमध्ये पहिलो कलिमाए शहादत पढ्नु हो। (कलिमाए शहादत पढ्नु भनेको “अश्हदु अन ला इलाह इल्लल्लाह व अश्हदु अन्न मुहम्मदन अब्दुहू व रसूलुहू” भन्नु हो। अर्थात् बुद्धि पुगेको, बालिग र बोल्न सक्ने व्यक्तिले “धर्ती र आकाशमा उहाँबाहेक इबादत र बन्दगी पाउन योग्य न कुनै वस्तु छ, न कोही व्यक्ति छ।
वास्तविक माबूद केवल अल्लाह तआला हुनुहुन्छ। उहाँ वाजिबुल वुजूद हुनुहुन्छ। हरेक श्रेष्ठता उहाँमा छ। उहाँमा कुनै कमी छैन। उहाँको नाम अल्लाह हो” भन्नु र यसमा हृदयले दृढतापूर्वक विश्वास गर्नु हो। साथै “गुलाफी रङका, सेतो-रातो, उज्यालो र मायालाग्दो मुहार भएका, काला भौँ र काला आँखा भएका, मुबारक निधार खुला भएका, असल स्वभावका, छाया जमिनमा नपर्ने, मीठो बोली भएका, अरबको मक्कामा जन्मनुभएकाले अरब भनिने, हाशिमी सन्तानमध्येका अब्दुल्लाहका छोरा मुहम्मद नामका ती महान् व्यक्ति अल्लाह तआलाका बन्दा र रसूल अर्थात् नबी हुनुहुन्छ” भन्नु हो।)
समय भएपछि नमाज पढ्नु हो। सम्पत्तिको जकात दिनु हो। रमजाने शरीफमा हरेक दिन रोजा बस्नु हो। सामर्थ्य हुनेले जीवनमा एक पटक हज गर्नु हो।’
ती व्यक्तिले रसूलुल्लाहबाट यी जवाफ सुनेपछि भन्नुभयो: ‘या रसूलल्लाह! तपाईँले सत्य भन्नुभयो!’ सुनिरहेका हामीहरू ‘आफैँ सोध्नुहुन्छ, आफैँ ठीक हो पनि भन्नुहुन्छ!’ भन्दै उहाँको यो कुरामा छक्क पर्यौँ।
ती व्यक्तिले फेरि भन्नुभयो: ‘या रसूलल्लाह! ईमान के हो, त्यो पनि मलाई बताइदिनुहोस्।’ (यस हदीसे शरीफमा ईमानको शाब्दिक अर्थ सोच्नु हुँदैन। किनभने शाब्दिक अर्थ साँचो मान्नु र विश्वास गर्नु भएकाले अरबका अनपढहरूमध्ये पनि यो अर्थ नजान्ने कोही थिएन। असहाबे किराम (रदियल्लाहु तआला अन्हुम अजमईन)ले यो नजान्नुभएको हुने त कुरै भएन। जिब्रील अलैहिस्सलाम असहाबे किरामलाई ईमानको अर्थ सिकाउन चाहनुहुन्थ्यो। यहाँ इस्लाममा ईमान कुन कुरालाई भनिन्छ भनेर सोधिएको हो।) रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम)ले पनि ईमान भनेको निश्चित छवटा कुरामा विश्वास गर्नु हो भनेर यसरी बताउनुभयो: ‘पहिले अल्लाह तआलामा, उहाँका फरिश्ताहरूमा, उहाँका किताबहरूमा, उहाँका रसूलहरूमा, आखिरतको दिनमा, कदरमा, भलाइ र खराबी अल्लाह तआलाबाटै हुन्छन् भन्नेमा विश्वास गर्नु हो।’ ती व्यक्तिले फेरि ‘तपाईँले सत्य भन्नुभयो’ भनेर पुष्टि गर्नुभयो।
त्यसपछि ती व्यक्तिले फेरि अनुरोध गर्नुभयो: ‘या रसूलल्लाह! इहसान के हो, त्यो पनि मलाई बताइदिनुहोस्।’ हजुर रसूलुल्लाहले भन्नुभयो: ‘अल्लाह तआलालाई देखिरहेझैँ गरी उहाँको इबादत गर्नु हो। किनभने तिमीले उहाँलाई नदेखे पनि उहाँले तिमीलाई अवश्य देख्नुहुन्छ।’ ती व्यक्तिले फेरि भन्नुभयो: ‘या रसूलल्लाह! मलाई कियामतको खबर दिनुहोस्!’ रसूल अलैहिस्सलामले भन्नुभयो: ‘यस विषयमा सोधिनेले सोध्नेभन्दा बढी जान्दैन।’ ती व्यक्तिले फेरि बिन्ती गर्नुभयो: ‘त्यसो भए यसका चिह्नहरू बताइदिनुहोस्।’ हजुर रसूलुल्लाहले भन्नुभयो: ‘दासीहरूले आफ्ना मालिकलाई जन्म दिनु, खाली खुट्टे, नाङ्गा, गरिब गोठालाहरू (धनी भएर) अग्ला भवन बनाउन एकअर्कासँग तँछाडमछाड गरेको तिमीले देख्नु हो।’ त्यसपछि ती व्यक्ति फर्केर जानुभयो। रसूलुल्लाहले मतिर फर्केर सोध्नुभयो: ‘हे उमर! सोध्ने व्यक्ति को हुनुहुन्थ्यो, थाहा छ?’ मैले भनेँ: ‘अल्लाह तआला र उहाँका रसूल बढी जान्नुहुन्छ।’ रसूलुल्लाहले भन्नुभयो: ‘उहाँ जिब्रील (जबराईल) हुनुहुन्थ्यो। तिमीहरूलाई तिमीहरूको धर्म सिकाउन आउनुभएको थियो।’”१३ प्यारा नबी आफ्ना असहाबलाई धर्ममा उहाँहरूको दर्जाअनुसार, उहाँहरूले बुझ्ने गरी बताउनुहुन्थ्यो।
असहाबे किरामका सबैभन्दा उच्च व्यक्तिहरूमध्ये एक हजरत उमरले एक दिन मस्जिद जाँदै गर्दा हजुर रसूलुल्लाहले अबू बकर सिद्दीकलाई केही कुरा बताइरहनुभएको देख्नुभयो। उहाँहरूको नजिक गएर सुन्नुभयो। अरूले पनि यो देखे, तर आएर सुन्न सङ्कोच माने। भोलिपल्ट हजरत उमरलाई देखेपछि उनीहरूले भने: “हे उमर! हिजो रसूलुल्लाह तिमीहरूलाई केही कुरा बताइरहनुभएको थियो। भन न, हामी पनि सिकौँ।” किनभने हजुर रसूलुल्लाह सधैँ भन्नुहुन्थ्यो: “मबाट सुनेका कुरा आफ्ना धर्मका दाजुभाइलाई पनि बताऊ! एकअर्कालाई सुनाऊ!” हजरत उमरले भन्नुभयो: “हिजो हजरत अबू बकरले कुरआने करीमको आफूले बुझ्न नसक्नुभएको एउटा आयते करीमाको अर्थ सोध्नुभएको रहेछ, रसूलुल्लाह उहाँलाई बुझाउँदै हुनुहुन्थ्यो। मैले एक घण्टा सुनेँ, केही बुझिनँ।” किनभने रसूलुल्लाह हजरत अबू बकरको उच्च दर्जाअनुसार बताउँदै हुनुहुन्थ्यो। हजरत उमर यति उच्च हुनुहुन्थ्यो कि हजुर रसूलुल्लाहले भन्नुभयो: “म नबीहरूमध्ये अन्तिम हुँ। मपछि कुनै नबी आउनेछैन। यदि मपछि नबी आउने भए उमर नबी हुने थिए।” यति उच्च हुनुहुँदा र मातृभाषा अरबी राम्ररी जान्नुहुँदा पनि उहाँले हजरत अबू बकरलाई बताइएको कुरआने करीमको तफ्सीर बुझ्न सक्नुभएन। अबू बकरको दर्जा उमरको भन्दा धेरै माथि थियो। हजरत अबू बकर, अझ जिब्रील अलैहिस्सलामसमेत, कुरआने करीमको अर्थ र रहस्य रसूलुल्लाहसँग सोध्नुहुन्थ्यो। रसूलुल्लाहले सम्पूर्ण कुरआने करीमको तफ्सीर आफ्ना असहाबलाई बताउनुभएको छ।
हाम्रा प्यारा नबी आफ्ना असहाबलाई धर्म सिकाउनुहुन्थ्यो, साथै मुद्दाहरू पनि हेर्नुहुन्थ्यो, साक्षीहरूको कुरा सुनेर सबैभन्दा गाह्रो झगडाको पनि टुङ्गो लगाइदिनुहुन्थ्यो। इस्लामको परिचय दिन र यसलाई फैलाउन, अझ एकजना मानिसलाई जहन्नमको आगोबाट बचाउन ठूलो मिहिनेत गर्नुहुन्थ्यो। आफ्नो चालचलन र व्यवहारले मानिसहरूका लागि उदाहरण बन्नुहुन्थ्यो र मोमिनहरूलाई मुशरिकहरूको दुष्टताबाट जोगाउन चाहिने उपाय पनि गराउनुहुन्थ्यो।
“हे उमर! सोध्ने व्यक्ति को हुनुहुन्थ्यो, थाहा छ? उहाँ जिब्रील (जबराईल) हुनुहुन्थ्यो। तिमीहरूलाई तिमीहरूको धर्म सिकाउन आउनुभएको थियो” हदीसे शरीफ
हे औलियाका आँखाको ज्योति बनेका सुन्दर मुहार,
मद्दत गर्नुहोस्, हे खुदाको नूरका खानी!
तपाईँको पाउको धुलो असफियाका आँखाको गाजल हो,
मद्दत गर्नुहोस्, हे खुदाको नूरका खानी!
तपाईँबिना कोही पनि हकसम्म पुग्न सक्दैन,
तपाईँको कृपाको फैजले मानिस स्वीकार्य बन्छ,
तपाईँ “रहमतुल लिल आलमीन” हुनुहुन्छ, या रसूल,
मद्दत गर्नुहोस्, हे खुदाको नूरका खानी!
मैले असीमित अपराध र पाप गरेँ,
नफ्सको पछि लाग्नेहरूको सङ्गी बनेँ,
मेरो अवज्ञाका लागि शफाअत गर्नुहोस्, हे करीम,
मद्दत गर्नुहोस्, हे खुदाको नूरका खानी!
हे कृपाका खानी, किब्रियाका रसूल,
गल्तीले भरिएको यो सलीमी तपाईँको सबैभन्दा तुच्छ सेवक हो,
तपाईँको दरबारमा शरण पर्छ, दान माग्छ,
मद्दत गर्नुहोस्, हे खुदाको नूरका खानी!
यावुज सुल्तान सलीम (सलीमी)
