मेरा प्यारा नबी

रजीको घटना

उहुदको गजवाका उत्कृष्ट धनुर्धारीमध्ये एक हजरत आसिम बिन साबितले त्यस गजवामा मुशरिक मुसाफे बिन तल्हा र उसको भाइ हारिसलाई मार्नुभएको थियो। रिसइबी पाल्नेमा प्रसिद्ध तिनकी आमा सुलाफा बिन्त सादले आफ्ना दुवै छोरा मार्ने हजरत आसिम बिन साबितको टाउको ल्याउनेलाई सय ऊँट दिने वाचा गरिन्। हजरत आसिमको खप्परमा रक्सी पिउने कसम खाइन्। साथै हजुर रसूलुल्लाहले पठाउनुभएको एउटा सरिय्यामा अब्दुल्लाह बिन उनैसले बनू लिह्यानका खालिद बिन सुफयानलाई मारेकाले बनू लिह्यानले अदल र कारा कबिलासँग सम्झौता गरे। मक्का वरपर बस्ने यी दुई कबिलाले एउटा योजना बनाएर दूतहरू तयार पारे। उनीहरूलाई भने: “तिमीहरू मुसलमान भएका छौँ भन्नेछौ। ‘हामी जकात दिनेछौँ, त्यो उठाउन र हामीलाई इस्लाम सिकाउन शिक्षक चाहिन्छ’ भन्नेछौ। आउनेमध्ये केहीलाई मारेर हामी बदला लिनेछौँ। केहीलाई मक्का लगेर कुरैशलाई बेच्नेछौँ।”

हिजरतको चौथो वर्षको सफर महिनामा यी दुई कबिलाका छ-सातजनाको एउटा टोली प्यारा नबीकहाँ आएर भन्यो: “हामी मुसलमान भयौँ, हामीलाई कुरआने करीम र धर्म सिकाउने शिक्षकहरू पठाइदिनुहोस्।”

यसै बेला हाम्रा प्यारा नबीले मक्काका मुशरिकहरू युद्धको तयारीमा छन् कि छैनन् भनेर बुझ्न दसजनाको एउटा सरिय्या तयार पार्नुभएको थियो। अदल र कारा कबिलाबाट पनि यस्तो टोली आएर शिक्षक माग्दा स्थिति बुझ्न, जाँच्न र खबर दिन यो दसजनाको खोजी टोलीलाई आएकाहरूसँगै पठाउनुभयो।

यस सरिय्यामा असहाबे किराममध्ये मरसद बिन अबी मरसद, खालिद बिन अबी बुकैर, आसिम बिन साबित, खुबैब बिन अदी, जैद बिन दसिन्ना, अब्दुल्लाह बिन तारिक, मुअत्तिब (मुगीर) बिन उबैद र नाम थाहा नभएका अरू तीनजना सहाबी (रदियल्लाहु अन्हुम) हुनुहुन्थ्यो।

यो खोजी टोली दिउँसो लुकेर र राति हिँडेर एक बिहान सबेरै रजीको पानीको मुहानमा आइपुग्नुभयो। त्यहाँ केही बेर आराम गरेर अज्वा भनिने मदीनाको राम्रो जातको खजुर खानुभयो। त्यसपछि त्यहाँबाट हिँडेर नजिकैको एउटा पहाडमा चढेर लुक्नुभयो।

हुजैल कबिलाकी भेडा चराउने एउटी महिला पनि रजीको मुहानमा आएकी थिइन्। खजुरका कोया देखेर यहाँ मदीनाको खजुर खाइएको रहेछ भन्ने उनले बुझिन्। “यहाँ मदीनाबाट आएका मानिस बसेका रहेछन्!” भन्दै चिच्याएर आफ्नो कबिलालाई खबर दिइन्।

यसै बेला दसजना सहाबीको यस सरिय्यासँगै रहेको अदल र कारा कबिलाको टोलीमध्ये एकजना कुनै बहाना बनाएर उहाँहरूबाट छुट्टियो। तुरुन्तै बनू लिह्यानकहाँ गएर खबर दियो।

यो खबर पाएपछि बनू लिह्यान हिँडे। सय धनुर्धारीसहित दुई सयजनाको सेना यो सानो सरिय्यामाथि पठाए। मुशरिकहरूको यो हुलले हजरत आसिम बिन साबित र उहाँका साथीहरूलाई पहाडको टुप्पोमा भेट्टायो र घेर्‍यो। यसैबीच दसजना सहाबीको हालखबर मुशरिकहरूलाई दिने व्यक्ति पनि उनीहरूसँग मिसियो। असहाबे किरामले त्यस बेला आफूहरू धोकामा परेको बुझ्नुभयो र युद्ध गर्ने निधो गरेर तरबार झिक्नुभयो। यो बुझेपछि मुशरिकहरूले उहाँहरूलाई झुक्याउन खोज्दै भने: “तिमीहरू हामीकहाँ ओर्लियौ भने एकजनालाई पनि मार्नेछैनौँ। पक्का वचन दिन्छौँ। अल्लाहको कसम, हामी तिमीहरूलाई मार्न चाहँदैनौँ। बरु तिमीहरूको बदलामा मक्कावासीबाट फिदिया असुल्न चाहन्छौँ।”

“घाइते भएपछि पनि अल्लाह तआला र उहाँका नबीको बोलावटमा दौडिनेहरू, अझ तीमध्ये भलाइ गर्ने र खराबीबाट जोगिनेहरूका लागि धेरै ठूलो इनाम छ” आले इमरान: १७२

रजीको घटना

आसिम बिन साबित, मरसद बिन अबी मरसद र खालिद बिन अबी बुकैर (रदियल्लाहु अन्हुम)ले “मुशरिकहरूको वचन र कसम हामी कहिल्यै स्वीकार गर्दैनौँ” भन्दै उनीहरूका सबै प्रस्ताव अस्वीकार गर्नुभयो। हजरत आसिम बिन साबितले भन्नुभयो: “मुशरिकहरूको संरक्षण कहिल्यै स्वीकार नगर्ने कसम मैले खाएको छु। अल्लाहको कसम, उनीहरूको संरक्षण र वचनमा फसेर तल ओर्लेर हार मान्दिनँ।” हात फैलाएर दुआ गर्नुभयो: “या अल्लाह! आफ्ना नबीलाई हाम्रो हालको खबर दिनुहोस्।” अल्लाह तआलाले हजरत आसिमको दुआ कबूल गर्नुभयो र हजुर रसूलुल्लाहलाई उहाँहरूको खबर दिनुभयो।

हजरत आसिमले मुशरिकहरूलाई भन्नुभयो: “हामी मर्नसँग डराउँदैनौँ। किनभने हामी आफ्नो धर्ममा प्रस्ट दृष्टि राख्छौँ (मर्‍यौँ भने शहीद भएर जन्नत जान्छौँ)।” मुशरिकहरूको मुखियाले “हे आसिम! आफूलाई र आफ्ना साथीहरूलाई खेर नफाल, हार मान!” भन्दा आसिम बिन साबितले काँडले जवाफ दिनुभयो। काँड हान्दै उहाँ यी पङ्क्ति पढ्दै हुनुहुन्थ्यो:

म बलियो छु, मलाई कुनै कमी छैन।
मेरो धनुको मोटो ताँदो तन्किएको छ।
मृत्यु सत्य हो, जीवन व्यर्थ र क्षणिक।
तकदीरमा लेखिएका सबै कुरा आइपर्नेछन्।
मानिसहरू ढिलो-चाँडो अल्लाहतिरै फर्कनेछन्।
यदि म तिमीहरूसँग लडिनँ भने
मेरी आमा (शोकले) बुद्धि गुमाउनुहुनेछ।

आसिमको तर्कसमा सातवटा काँड थिए। हानेको हरेक काँडले उहाँले एउटा मुशरिक मार्नुभयो। काँड सकिएपछि धेरैलाई भालाले छियाछिया पार्नुभयो। तर भाला पनि भाँचियो। तुरुन्तै तरबार झिक्नुभयो, त्यसको दाप भाँचेर फ्याँक्नुभयो। (यसको अर्थ थियो: म मर्दासम्म लड्छु, हार मान्दिनँ।) त्यसपछि यसो दुआ गर्नुभयो: “या अल्लाह! मैले आजसम्म तपाईँको धर्मको रक्षा गरेँ। आजको दिनको अन्त्यमा तपाईँले मेरो शरीरको रक्षा गरिदिनुहोस् भनेर बिन्ती गर्छु।” हजरत आसिम बिन साबित र अरू सहाबीहरूका “अल्लाहु अकबर!”का नाराले पहाड गुन्जिरहेका थिए। दुई सयजनाविरुद्ध दसजना मुजाहिद ज्यानको बाजी लगाएर लडिरहनुभएको थियो, नजिक आउनेहरूले आफ्नो कर्मको सजाय पाइरहेका थिए। आखिर आसिम (रदियल्लाहु अन्हु) दुवै खुट्टामा घाइते भएर भुइँमा ढल्नुभयो। काफिरहरू उहाँसँग साह्रै डराउने भएकाले उहाँ भुइँमा ढल्नुहुँदा पनि नजिक आउन सकेनन्; टाढैबाट काँड हानेर शहीद गरे। त्यस दिन त्यहाँका दसजना सहाबीमध्ये सातजना शहीद हुनुभयो र तीनजना बन्दी बनाइनुभयो।

बनू लिह्यानले सुलाफा बिन्त सादलाई बेच्न आसिम बिन साबितको मुबारक टाउको काट्न चाहे। तर अल्लाह तआलाले हजरत आसिम बिन साबितको दुआ कबूल गर्नुभएकाले मौरीको एउटा हुल पठाउनुभयो। मौरीहरू बादलझैँ आसिम बिन साबितमाथि मडारिइरहे। मुशरिकहरू नजिक जान सकेनन्। आखिर उनीहरूले भने: “छोडिदेऊ, साँझ परेपछि मौरी छरिन्छन्, अनि हामी टाउको काटेर लैजान्छौँ।”

साँझ अल्लाह तआलाले मुसलधारे पानी पार्नुभयो। खोल्साखोल्सीबाट भेल बग्यो र हजरत आसिम बिन साबितको मुबारक लासलाई अज्ञात ठाउँमा बगाएर लग्यो। जति खोजे पनि भेटेनन्। त्यसैले मुशरिकहरूले हजरत आसिम बिन साबितको शरीरको कुनै पनि भाग काट्न सकेनन्।

“या अल्लाह! मैले आजसम्म तपाईँको धर्मको रक्षा गरेँ। आजको दिनको अन्त्यमा तपाईँले मेरो शरीरको रक्षा गरिदिनुहोस् भनेर बिन्ती गर्छु!” आसिम बिन साबित (रदियल्लाहु अन्हु)

मौरीहरूले हजरत आसिमको रक्षा गरेको घटनाको चर्चा हुँदा हजरत उमरले भन्नुभयो: “अल्लाह तआला निश्चय नै आफ्नो मोमिन बन्दाको रक्षा गर्नुहुन्छ। आसिम बिन साबित जीवित छँदा मुशरिकहरूबाट जसरी जोगिनुभयो, अल्लाह तआलाले पनि उहाँको मृत्युपछि उहाँको शरीरको रक्षा गर्नुभयो र मुशरिकहरूलाई छुन दिनुभएन।” त्यसैले आसिम बिन साबितलाई सम्झँदा “मौरीहरूले रक्षा गरेका व्यक्ति” भनेर चिनिन्थ्यो।१

बन्दी बनाइनुभएका तीन सहाबी खुबैब बिन अदी, जैद बिन दसिन्ना र अब्दुल्लाह बिन तारिक (रदियल्लाहु अन्हुम) हुनुहुन्थ्यो। बनू लिह्यानले तीनैजनालाई धनुका ताँदोले बाँधे। तीमध्ये अब्दुल्लाह बिन तारिक मक्काका मुशरिकहरूकहाँ लगिन राजी हुनुभएन। नजान प्रतिरोध गर्नुभयो। “शहीद गरिएका मेरा साथीहरूले जन्नतको सम्मान पाए!” भन्दै कराउनुभयो। हातको बन्धन चुँडाल्नुभयो, तर बनू लिह्यानले ढुङ्गाले हानेर उहाँलाई पनि शहीद गरे। हजरत खुबैब बिन अदी र जैद बिन दसिन्नाले “रसूलुल्लाहले दिनुभएको खोजीको जिम्मेवारी पूरा गर्ने मौका पो पाइन्छ कि” भन्ने सोचले सब्र गर्नुभयो।

बनू लिह्यानले दुवैलाई मक्का लगे। बद्र र उहुदका युद्धमा आफ्ना नातेदार मारिएका मुशरिकहरू रिसइबी र बदलाको आगोमा जल्दै मौका खोजिरहेका थिए। हजरत खुबैबलाई मुशरिकहरूमध्ये हुजैर बिन अबी इहाब तमीमीले बद्रको गजवामा मारिएको आफ्नो भाइको बदला लिन र हजरत जैद बिन दसिन्नालाई सफवान बिन उमय्याले बद्रको गजवामा मारिएको आफ्नो बाबु उमय्या बिन खलफको बदला लिन किने। मुशरिकहरूको मनसाय दुवैलाई मार्ने थियो। तर युद्ध गर्न निषेध मानिने महिनामा भएकाले कैदमा राखेर समय बित्न पर्खे। दुवैलाई अलग-अलग ठाउँमा कैद गरे। दुवै सहाबीले यस बन्धनमा ठूलो सब्र, सहनशीलता र कुलीनता देखाउनुभयो।

हजरत खुबैब बिन अदी कैद गरिनुभएको घरमा बस्ने, दासत्वबाट मुक्त भएकी माविया (उहाँ पछि मुसलमान हुनुभएको हो)ले यसरी सुनाउनुभयो:

“खुबैब म बस्ने घरको एउटा कोठामा कैद गरिनुभएको थियो। मैले उहाँभन्दा असल बन्दी कहिल्यै देखिनँ। एक दिन हेरेँ, उहाँको हातमा करुवाजत्रो ठूलो अङ्गुरको झुप्पा थियो। त्यसबाट खाँदै हुनुहुन्थ्यो। हरेक दिन उहाँको हातमा यस्तै अङ्गुरको झुप्पा देखिन्थ्यो। त्यस मौसममा, त्यसमाथि मक्कामा अङ्गुर पाउनु कुनै हालतमा सम्भव थिएन। अल्लाह तआलाले नै उहाँलाई रिज्क दिइरहनुभएको थियो। कैद गरिनुभएको कोठामा उहाँ नमाज पढ्नुहुन्थ्यो, कुरआने करीम पढ्नुहुन्थ्यो। उहाँले पढेको कुरआने करीम सुन्ने महिलाहरू रुन्थे र उहाँप्रति दया देखाउँथे। कहिलेकाहीँ ‘तिम्रो केही इच्छा छ?’ भनेर सोध्दा भन्नुहुन्थ्यो: ‘मलाई मीठो पानी देऊ, मूर्तिका लागि काटिएका जनावरको मासु नल्याऊ, अनि मलाई मार्न आउनुअघि खबर देऊ; अरू केही चाहिँदैन।’ उहाँलाई मार्ने दिन तोकिएपछि म बताउन गएँ। थाहा पाउनुहुँदा उहाँमा अलिकति पनि फेरबदल आएन, कणभर पनि दुःखको छाया देखिएन।

त्यो दिन नजिकिँदा मर्नुअघि शरीर सफा गर्न चाहेको बताउनुभयो र एउटा उस्तुरो माग्नुभयो। मैले आफ्नो बच्चाको हातमा उस्तुरो दिएर पठाएँ। बच्चा उहाँकहाँ पुगेपछि एक्कासि म डराएँ। ‘हाय! यी मानिसले उस्तुरोले बच्चालाई काटिदिन्छन्। यिनलाई त जसरी पनि मारिनेछ’ भनेँ। दौडेर बच्चालाई हेर्न गएँ। मैले पठाएको उस्तुरो खुबैबले बच्चाको हातबाट लिएर बच्चालाई माया गर्न आफ्नो घुँडामा बसाल्नुभएको रहेछ। यो देखेर म साह्रै डराएँ र चिच्याउन थालेँ। कुरा बुझेर उहाँले भन्नुभयो: ‘म यो बच्चालाई मार्छु भन्ठान्छौ? हाम्रो धर्ममा यस्तो कुरा छैन। अन्यायपूर्वक ज्यान लिनु हाम्रो हाल र मर्यादाअनुकूल होइन।’”

खुबैब बिन अदी र जैद बिन दसिन्नालाई मार्न मुशरिकहरूले तोकेको दिन आइपुग्यो। त्यस दिन बिहान सबेरै उनीहरूले बन्दीहरूका साङ्ला खोले र मक्काबाहिर तनईम भन्ने ठाउँमा लगे। (तनईम काबाबाट ५–८ किलोमिटर टाढा छ। त्यहाँको पहाडको नाम पनि तनईम पहाड हो।) मक्काका मानिसहरू र मुशरिकहरूका अगुवा उहाँहरूको मृत्युदण्ड हेर्न भेला भएका थिए। वरिपरि ठूलो भीड थियो।

बन्दीहरूलाई मृत्युदण्ड दिने ठाउँमा मुशरिकहरूले दुईवटा फाँसीको खाँबो गाडेका थिए। हजरत खुबैबलाई खाँबोमा चढाएर बाँध्न लाग्दा उहाँले भन्नुभयो: “मलाई छोडिदेऊ, दुई रकअत नमाज पढूँ।” उनीहरूले छोडिदिए र “त्यहीँ पढ” भने। खुबैब तुरुन्तै नमाजमा उभिनुभयो र खुशूका साथ दुई रकअत नमाज पढ्नुभयो। भेला भएका मुशरिक, महिला र केटाकेटी उत्सुकतासाथ उहाँलाई हेरिरहेका थिए। नमाज सकेपछि उहाँले भन्नुभयो: “अल्लाहको कसम, मृत्युसँग डराएर नमाज लम्ब्याएँ भनेर तिमीहरूले नसोच्ने भए म नमाज लामो पार्थेँ र अझ धेरै पढ्थेँ।” मृत्युदण्ड दिइँदा दुई रकअत नमाज पहिलो पटक पढ्ने र यसलाई चलन र सुन्नत बनाउने हजरत खुबैब बिन अदी हुनुहुन्छ। मृत्युदण्डको बेला उहाँले दुई रकअत नमाज पढ्नुभएको सुनेर प्यारा नबी (सल्लल्लाहु अलैहि व सल्लम)ले उहाँको यो कामलाई ठीक र उचित ठान्नुभयो।२

नमाज पढिसक्नुभएपछि उनीहरूले हजरत खुबैबलाई खाँबोमा चढाएर बाँधे। उहाँको अनुहार किब्लाबाट मदीनातर्फ फर्काइदिए। त्यसपछि भने: “ल, आफ्नो धर्मबाट फर्क! तिमीलाई छोडिदिन्छौँ।” उहाँले यसरी जवाफ दिनुभयो: “अल्लाहको कसम, म फर्किन्नँ! सारा संसार मेरो भए र मलाई दिइए पनि म इस्लामबाट फर्किन्नँ!”

यो जवाफ पाएपछि मुशरिकहरूले भने: “अहिले तिम्रो ठाउँमा मुहम्मद होऊन्, उनी मारिऊन् भन्ने चाहन्छौ? ‘हो’ भन्यौ भने बच्नेछौ, आफ्नो घरमा आनन्दले बस्नेछौ!” खुबैबले भन्नुभयो: “मुहम्मद अलैहिस्सलामको खुट्टामा एउटा काँडो बिझेको पनि म कहिल्यै सहन्नँ!”

मुशरिकहरूले ठट्टा गर्दै, हाँस्दै भने: “हे खुबैब! इस्लाम धर्मबाट फर्क! फर्किनौ भने हामी तिमीलाई अवश्य मार्नेछौँ!” खुबैबले जवाफ दिनुभयो: “अल्लाह तआलाको बाटोमा छु भने मलाई मारिनुको कुनै महत्त्व छैन।”

त्यसपछि खुबैबले यसो दुआ गर्नुभयो: “या अल्लाह! यहाँ म शत्रुको अनुहारबाहेक अर्को अनुहार देख्दिनँ। या अल्लाह! मेरो तर्फबाट आफ्ना रसूललाई सलाम पुर्‍याइदिनुहोस्। हामीमाथि गरिएको यो काम आफ्ना रसूललाई बताइदिनुहोस्!” अनि भन्नुभयो: “अस्सलामु अलैका या रसूलल्लाह।” खुबैबले यो दुआ गरिरहनुहुँदा हाम्रा प्यारा नबी असहाबे किरामसँग बसिरहनुभएको थियो। जैद बिन हारिसाले यसरी सुनाउनुभयो: “एक दिन रसूलुल्लाह असहाबसँग बसिरहनुहुँदा ‘व अलैहिस्सलाम’ भन्नुभयो। असहाबे किरामले सोध्नुभयो: ‘या रसूलल्लाह! यो कसको सलामको जवाफ हो?’ उहाँले भन्नुभयो: ‘हाम्रा भाइ खुबैबको सलामको जवाफ हो। जिब्रील (अलैहिस्सलाम)ले खुबैबको सलाम मकहाँ पुर्‍याउनुभयो।’”३

खुबैबको वरिपरि जम्मा भएका कुरैशी मुशरिकहरूले “तिमीहरूका बाबुहरूलाई मार्ने मानिस यही हो” भन्दै जवानहरूलाई भालासहित उहाँमाथि जाइलाग्न लगाए; उनीहरूले उहाँको मुबारक शरीरमा घाउ पार्न थाले। त्यसै बेला खुबैबको अनुहार काबातिर फर्कियो। मुशरिकहरूले मदीनातिर फर्काए। हजरत खुबैबले दुआ गर्नुभयो: “या अल्लाह! म तपाईँको नजरमा स्वीकार्य बन्दा हुँ भने मेरो अनुहार किब्लातिर फर्काइदिनुहोस्।” उहाँको अनुहार फेरि किब्लातिर फर्कियो। मुशरिकहरूमध्ये कसैले पनि उहाँको अनुहार काबाबाहेक अरूतिर फर्काउन सकेन। यसैबीच खुबैबले खाँबोमाथिबाट शत्रुहरूको बीचमा परदेशी हालतमा आफूलाई शहीद गरिँदै छ भन्ने व्यक्त गर्ने एउटा कविता भन्नुभयो। मुशरिकहरूले हातका भाला उहाँको शरीरमा रोप्दै यातना दिन थालेपछि उहाँले भन्नुभयो: “अल्लाहको कसम, म मुसलमान भएरै मारिने हो भने, हानिएर जुन कोल्टे परे पनि मलाई कुनै पीर छैन! यी सबै अल्लाह तआलाको बाटोमा हुन्।”

“मुहम्मद अलैहिस्सलामको खुट्टामा एउटा काँडो बिझेको पनि म कहिल्यै सहन्नँ!” खुबैब बिन अदी (रदियल्लाहु अन्हु)

त्यसपछि खुबैबले मुशरिकहरूलाई यसरी बद्दुआ दिनुभयो: “या अल्लाह! कुरैशका सबै मुशरिकलाई नाश गरिदिनुहोस्! तिनका जमात छरपस्ट पारिदिनुहोस्! एक-एक गरी तिनका प्राण लिनुहोस्, तिनलाई जीवितै नछोड्नुहोस्!” यो बद्दुआ सुनेर मुशरिकहरू साह्रै डराए र तीमध्ये केही त्यहाँबाट भागेर टाढा गए। बाँकीमध्ये केहीले एकपछि अर्को गर्दै भाला रोप्न थाले; तीमध्ये एकले उहाँको छातीमा भाला रोप्यो र भाला पिठ्युँबाट निस्क्यो। शरीरबाट रगतको धारा छुटिरहँदा र खाँबोमा झुन्डिँदै अन्तिम सास फेर्दा खुबैब “अश्हदु अन ला इलाह इल्लल्लाह व अश्हदु अन्न मुहम्मदन अब्दुहू व रसूलुहू” भन्दै शहीद हुनुभयो।४

खुबैब बिन अदी (रदियल्लाहु अन्हु)को लास चालीस दिनसम्म खाँबोमै झुन्डिरह्यो। शरीर न कुहियो, न गन्हायो। सधैँ ताजा रगत बगिरह्यो। हाम्रा प्यारा नबीले उहाँको लास ल्याउन असहाबे किराममध्येका हजरत जुबैर बिन अव्वाम र मिकदाद बिन अस्वदलाई पठाउनुभयो। उहाँहरू राति लुकेर मक्का पस्नुभयो। खुबैबलाई झुन्ड्याइएको खाँबोबाट उतारेर ऊँटमा राखी मदीनातर्फ लाग्नुभयो। कुरा थाहा पाएपछि मुशरिकहरू ठूलो भीड बनाएर उहाँहरूमाथि आइलागे। आफूलाई जोगाउन दुवै सहाबीले लास भुइँमा राख्नुभयो। केही बेरपछि लास राखेको ठाउँ फाटेर लासलाई भित्र लिएको र फेरि बन्द भएको देख्नुभयो; अनि उहाँहरूले मदीनाको बाटो समात्नुभयो।

हजरत जैद बिन दसिन्नालाई पनि गाडिएको अर्को खाँबोमा बाँधे। उहाँलाई धर्मबाट फर्काउन जबरजस्ती गरे। तर जैदको ईमान झन् बलियो बनाउनुबाहेक उनीहरूले केही पाएनन्। त्यसपछि जैदमाथि काँडको वर्षा गरे। आखिर सफवान बिन उमय्याको मुक्त गरिएको दास निस्तासले उहाँलाई शहीद गर्‍यो।