मेरा प्यारा नबी

मक्काको विजय

हिजरतको आठौँ वर्ष थियो। हुदैबियाको सन्धिपत्रको एउटा बुँदा यस्तो थियो: “दुवै पक्षबाहिर रहेका अरब कबिलाहरू आफूले चाहेको पक्षको संरक्षणमा जान पाउनेछन्; मुसलमान वा मुशरिक, जोसँग मिल्न पनि स्वतन्त्र हुनेछन्।” यसअनुसार प्यारा नबीको मित्र कबिला खुजाआ मुसलमानहरूको पक्षमा र बनू बक्र कबिला मुशरिकहरूको पक्षमा उभिएका थिए। खुजाआ र बनू बक्र पहिलेदेखि नै शत्रु थिए; मौका पाउनेबित्तिकै एकअर्कामाथि आक्रमण गर्थे। हुदैबियाको सन्धिअनुसार उनीहरूले पनि केही समयका लागि आक्रमण रोकेका थिए। तर बनू बक्रले यो कुरा दुई वर्ष मात्र पालन गर्न सके। बनू बक्रका एकजनाले हाम्रा प्यारा नबीको अपमान गर्ने कविता भनेछ; यो सुनेर खुजाआ कबिलाका एक युवकले सहन सकेनछन् र उसको टाउको फोरिदिएछन्। बनू बक्रले यसैलाई बहाना बनाएर सन्धिअनुसार खतराबाट सुरक्षित रहेको खुजाआ कबिलामाथि आक्रमण गरे। यस आक्रमणमा कुरैशी मुशरिकहरूले हतियार दिएर र गोप्य रूपमा मानिस पठाएर सघाए, अनि हरमे शरीफभित्रै खुजाआ कबिलाका बीसभन्दा बढी मानिस मारे। झडपका बेला खुजाआ कबिलाका केही मुसलमानले प्यारा नबीसँग सहायता मागेका थिए। खुजाआ कबिलामाथि रातमा मारिएका यी छापामा बनू बक्रका बीचमा कुरैशी मुशरिकहरू पनि थिए भनेर देख्नेहरू थिए।

त्यो रात मदीनामा हाम्री आमा हजरत मैमूनाको घरमा हुनुहुने हाम्रा प्यारा नबीले नमाज पढ्न उठेर वुजू गर्दै गर्दा अल्लाह तआलाको अनुमतिले मुजिजास्वरूप मक्काका मुसलमानहरूले आफूसँग सहायता मागिरहेको सुन्नुभयो। उनीहरूलाई जवाफ दिँदै भन्नुभयो: “लब्बैक! (तिमीहरूको पुकारमा म हाजिर छु!)” छेउमा कोही नहुँदा पनि प्यारा नबी यसरी बोलिरहनुभएको देखेर हाम्री आमा मैमूनाले सोध्नुभयो: “या रसूलल्लाह! तपाईँको छेउमा कोही हुनुहुन्छ र?”

हाम्रा प्यारा नबीले उहाँलाई मक्कामा भएको घटना र कुरैशीहरू पनि यस काममा मिलेको कुरा बताउनुभयो।

बनू बक्रलाई सघाएर, खुजाआ कबिलामाथि छापा मारेर र उनीहरूलाई मारेर कुरैशी मुशरिकहरूले हुदैबियाको सन्धिपत्रका बुँदाविपरीत काम गरेका थिए; यसरी उनीहरूले सन्धि तोडेका थिए।

हाम्रा प्यारा नबीले यो खबर तत्कालै थाहा पाउनुभएको थियो। त्यसमाथि घटना भएको तीन दिनपछि खुजाआ कबिलाका अम्र बिन सालिम चालीसजना घोडचढी लिएर आउनुभयो र रसूले अकरम (सल्लल्लाहु अलैहि व सल्लम)लाई सबै कुरा सुनाउनुभयो। तर त्यस बेला व्यापारका लागि शाम गएका कुरैशका अगुवा अबू सुफयानलाई यो घटनाको केही खबर थिएन। हबीबुल्लाहले “यदि मैले खुजाआका सन्तानलाई सहायता गरिनँ भने मलाई पनि सहायता नमिलोस्!” भन्दै एउटा पत्र लेखाउनुभयो। कुरैशी मुशरिकहरूलाई पठाइएको यस पत्रमा हाम्रा प्यारा नबीले यसो भन्नुभएको थियो: “…या त तिमीहरू बनू बक्रसँगको गठबन्धन छोडेर पछि हट्छौ, या खुजाआका मारिएकाहरूको दियत तिर्छौ! मैले भनेका यीमध्ये एउटा पनि पूरा गरेनौ भने म तिमीहरूसँग युद्ध गर्नेछु भनी सूचित गर्छु!…” कुरैशीहरूले यो दयासम्म पनि बुझ्न सकेनन्। उनीहरूले खबर पठाए: “न हामी गठबन्धन तोड्छौँ, न दियत नै तिर्छौँ! हामी त युद्ध मात्र गर्न सक्छौँ।” तर पछि यसो गरेकोमा हजार पटक पछुताए र डरले सन्धि नवीकरण गर्न अबू सुफयानलाई पर्खन थाले।

“(हे मक्काका मुसलमानहरू हो!) लब्बैक! तिमीहरूको पुकारमा म हाजिर छु!” हदीसे शरीफ

अबू सुफयान शामबाट फर्केपछि उनीहरूले उनलाई घटना सुनाए र भने: “यो जसरी पनि मिलाउनैपर्ने काम हो। मिलाइएन भने मुहम्मदले हामीलाई मक्काबाट लखेट्नेछन्!” अबू सुफयानले भने: “यो घटनाबारे मलाई केही थाहा नभए पनि सन्धि नवीकरण गरी म्याद थप्न म तुरुन्तै जानैपर्छ।” अनि उनी तुरुन्तै मदीनातर्फ लागे।१ अबू सुफयान मदीना आइपुग्नुअघि नै हाम्रा प्यारा नबीले उनी आउँदै छन् भनेर असहाबे किरामलाई बताउनुभयो र भन्नुभयो: “म यस्तो बुझ्छु: अबू सुफयान सन्धि नवीकरण गर्न र त्यसको म्याद थप्न आउँदै छन्। तर उनको इच्छा पूरा हुनेछैन, जसरी आए त्यसरी नै फर्कनेछन्!…”

अहिलेसम्म मुसलमान नभएका अबू सुफयान मदीना मुनव्वरा आए। उनी आफ्नी छोरी, प्यारा नबीकी मुबारक पत्नी र मोमिनहरूकी आमा उम्मे हबीबा (रदियल्लाहु अन्हा)को घरमा गए र हाम्रा प्यारा नबीको ओछ्यानमा बस्न खोजे। उनी बस्न नपाउँदै हाम्री आमा हजरत उम्मे हबीबाले हत्तपत्त ओछ्यान उठाइहाल्नुभयो। बुबाको चित्त यसले साह्रै दुख्यो र अचम्म मान्दै उनले भने: “ए छोरी! यो ओछ्यान मबाट जोगाउँदै छौ?” रसूलुल्लाहको मायालाई सबै कुराभन्दा माथि राख्नुहुने मोमिनहरूकी आमा हजरत उम्मे हबीबाले बुबालाई जवाफ दिनुभयो: “यो ओछ्यान अल्लाह तआलाका रसूलको ओछ्यान हो। यसमा मुशरिकहरू बस्न पाउँदैनन्! तपाईँ मुशरिक हुनुहुन्छ, नापाक हुनुहुन्छ! यो ओछ्यानमा बस्नु तपाईँलाई पटक्कै सुहाउँदैन!”

बुबाले “ए छोरी! मेरो घर छोडेदेखि तिमीलाई केही भएछ!” भनेपछि उहाँले भन्नुभयो: “अलहम्दुलिल्लाह, अल्लाह तआलाले मलाई इस्लाम नसीब गर्नुभयो। तपाईँ भने अझै पनि नसुन्ने, नदेख्ने, ढुङ्गाले बनेका मूर्ति पुजिरहनुभएको छ! हे बुबा! तपाईँजस्तो कुरैशको ठूलो र पाको मानिस कसरी इस्लामदेखि टाढा रहन सक्छ?…” बुबा साह्रै रिसाए र “मलाई यत्रो अनादर गर्दै अज्ञानी भनेर दोष लगाउँछौ! भनेपछि म पुर्खाले वर्षौँदेखि पुज्दै आएका कुरा छोडेर मुहम्मदको धर्ममा पसूँ?!” भन्दै त्यहाँबाट निस्के।२

हाम्रा प्यारा नबीको सामु आएर कुरैशका अगुवाले भने: “म हुदैबियाको सन्धिपत्र नवीकरण गर्न र त्यसको म्याद थप्न आएको हुँ। आऊ, हाम्रो बीचको यो सम्झौता लिखित रूपमा नवीकरण गरौँ!” हबीबे अकरम (सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नुभयो: “हामी हुदैबियाको सन्धिपत्रविपरीत कुनै काम गर्दैनौँ र त्यसलाई फेर्दैनौँ!” कुरैशका अगुवाले पटक-पटक “सन्धिपत्र फेरौँ! नवीकरण गरौँ!…” भने पनि हाम्रा प्यारा नबीले उनलाई कुनै जवाफ दिनुभएन। आफ्ना सबै प्रयास बेकार गएको देखेर कुरैशका अगुवा मक्का फर्के र मुशरिकहरूलाई अवस्था सुनाए। मुशरिकहरूले “भनेपछि केही गर्न नसकी त्यसै फर्कियौ, होइन?!…” भन्दै उनलाई धिक्कारे। अब उनीहरूसँग पर्खनुबाहेक गर्ने केही बाँकी रहेन।

जसले मस्जिदे हराममा शरण लिन्छ…

अबू सुफयान मदीनाबाट गएपछि हाम्रा प्यारा नबीले मक्का जित्ने निधो गर्नुभयो। किनभने कुरैशीहरूले आफ्नो वचन पालन गरेनन्, सन्धि तोडे। तर उहाँ यो रहस्य निकै गोप्य राख्दै हुनुहुन्थ्यो; मुशरिकहरूलाई तयारी गर्ने मौका नदिई र हरमे शरीफमा रगत नबगाई मक्का हात पार्न चाहनुहुन्थ्यो। यो युद्धको एउटा सतर्कता थियो। किनभने मक्का जितिएपछि, कसलाई थाहा, कति धेरै मानिस मुसलमान हुने सौभाग्य पाउनेछन्। यो कुरा उहाँले हजरत अबू बकर र असहाबका केही अगुवालाई बताउनुभयो। असहाबलाई अभियानको तयारी गर्न आदेश दिनुभयो, तर कता जाने हो भनेर बताउनुभएन। असहाबे किराम जिहादको तयारी गर्न थाल्नुभयो। प्यारा नबीले वरपरका मुसलमान कबिला अस्लम, अश्जा, जुहैना, हुसैन, गिफार, मुजैना, सुलैम र जम्रा तथा खुजाआका सन्तानलाई पनि खबर पठाउनुभयो। खबरमा यसो भनिएको थियो: “अल्लाह तआला र आखिरतको दिनमा ईमान ल्याउनेहरू रमजाने शरीफको सुरुमा मदीनामा उपस्थित होऊन्।” यसरी उनीहरूलाई युद्धमा सामेल हुन बोलाइयो।

सतर्कताका लागि हबीबुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम)ले मक्का जाने बाटा छेकेर सम्पर्क काट्ने जिम्मा हजरत उमरलाई दिनुभयो। हजरत उमरले तुरुन्तै पहाडी बाटा, भञ्ज्याङ र अरू दोबाटोमा पाले राख्नुभयो र आदेश दिनुभयो: “मक्का जान चाहने जोसुकैलाई तिमीहरू फर्काउनेछौ!”

यो काम गोप्य रूपमा होस् भनेर हाम्रा प्यारा नबी अल्लाह तआलासँग यसो भन्दै दुआ गरिरहनुहुन्थ्यो: “या रब! हामी अचानक उनीहरूको भूमिमा नपुगुन्जेल कुरैशका जासुस र खबर ल्याउनेहरूलाई रोकिदिनुहोस्, उनीहरूलाई नदेख्ने र नसुन्ने बनाइदिनुहोस्। उनीहरूले हामीलाई अचानक देखून् र सुनून्!”

उत्तरका मुशरिक वा बाइजान्टिनहरूमाथि चढाइ गर्न लागिएको छ भन्ने छाप पार्न प्यारा नबीले हजरत अबू कतादालाई एउटा सैनिक टोलीसहित उत्तरतिर, इजाम उपत्यकातर्फ पठाउनुभयो। यसैबीच मदीनाको तयारीबारे मक्काका मुशरिकहरूलाई खबर दिन पठाइएको एउटा पत्रबारे हाम्रा प्यारा नबीले मुजिजास्वरूप बताउनुभयो र हजरत अलीलाई पठाएर त्यो पत्र समात्न लगाउनुभयो।

रमजान महिनाको दोस्रो दिनसम्म वरपरका कबिलाबाट सहायता आइपुगेको थियो र सबै अबू इनबा इनारनजिकैको छाउनीमा भेला भएका थिए। असहाबे किरामको सङ्ख्या बाह्र हजार पुगेको थियो। तीमध्ये चार हजार अन्सार, सात सय मुहाजिर र बाँकी वरपरका मुसलमान कबिलाका थिए।३

हाम्रा प्यारा नबीले मदीनाको जिम्मा हजरत अब्दुल्लाह बिन उम्मे मक्तूमलाई सुम्पनुभयो।४ हजरत जुबैर बिन अव्वामलाई दुई सयजनाको घोडचढी टोलीको अगुवा बनाएर बाटोको खोजखबर लिन अगाडि पठाउनुभयो। हिजरतको आठौँ वर्ष, रमजाने शरीफको दसौँ दिन, बुधबार सारा संसारका सरदार अल्लाह तआला र उहाँका रसूलको मायाले मन भरिएका बाह्र हजारको विशाल सेनाको अगुवाइ गर्दै अल्लाह तआलाको नाम लिएर मदीनाबाट निस्कनुभयो। आठ वर्षअघि यातना र अत्याचार सहँदै हिजरत गर्न बाध्य पारिएको आफ्नो जन्मथलो मक्कातर्फ उहाँहरू जाँदै हुनुहुन्थ्यो। मूर्तिघर बनाइएको भव्य काबालाई मूर्तिहरूबाट सफा गर्न जाँदै हुनुहुन्थ्यो…

आफ्नो जिद्दी छाड्दै नछाड्ने मुशरिकहरूलाई सत्य, न्याय र दया देखाउन जाँदै हुनुहुन्थ्यो… अल्लाह तआलाको धर्म फैलाउन र त्यहाँका मानिसहरू जहन्नमको सदाको अजाबबाट जोगिने माध्यम बन्न जाँदै हुनुहुन्थ्यो। या रब! कति ठूलो दया थियो यो!… इस्लामी सेना जुल हुलैफा पुग्दा मक्काबाट परिवारसहित हिजरत गरेर आउनुभएका प्यारा नबीका काका हजरत अब्बाससँग भेट भयो। हाम्रा प्यारा नबी काका आउनुभएकोमा साह्रै खुसी हुनुभयो र “हे अब्बास! म नबीहरूमध्ये अन्तिम भएझैँ तिमी मुहाजिरहरूमध्ये अन्तिम हौ” भन्दै उहाँको मन राख्नुभयो। हजरत अब्बासको सरसामान मदीना पठाउनुभयो। हजरत अब्बास प्यारा नबीकै साथमा रहनुभयो र मक्का विजयमा सहभागी हुनुभयो।५ रसूले अकरम (सल्लल्लाहु अलैहि व सल्लम) मक्कानजिकैको कुदैद पुग्नुभएपछि गौरवशाली असहाबलाई युद्धको पङ्क्तिमा उभ्याउनुभयो। हरेक कबिलालाई छुट्टाछुट्टै झन्डा (ध्वजा) दिनुभयो र ती हरेक कबिलाका झन्डाबरदार (ध्वजाधारी)लाई सुम्पनुभयो। मुहाजिरहरूको झन्डा हजरत अली, जुबैर बिन अव्वाम र साद बिन अबी वक्कास (रदियल्लाहु अन्हुम)ले बोकिरहनुभएको थियो। अन्सारका बाह्रजना झन्डाबरदार थिए; अश्जा र सुलैमका एक-एकजना, मुजैनाका तीन, अस्लमका दुई, खुजाआका सन्तानका तीन र जुहैनाका चारजना झन्डाबरदार थिए।६ मदीनाबाट निस्केको दस दिन भइसकेको थियो। साँझतिर मक्काको एकदमै नजिक पुगियो र इशाको समयमा मर्रुज्जहरान आइपुगियो। प्यारा नबीले असहाबलाई यहीँ रोकिन आदेश दिनुभयो। साथै हजरत उमरलाई जिम्मा दिएर हरेक मुजाहिदलाई आगो बाल्न पनि आदेश दिनुभयो।७ एकै पटक दस हजारभन्दा बढी आगो बलेपछि मक्का उज्यालोमा डुब्यो। केही थाहा नभएका मक्काका मुशरिकहरू अलमलमा परे। के भइरहेको छ बुझ्न उनीहरूले अबू सुफयानलाई खटाए। उनी केही मानिस साथमा लिएर लुक्दै-लुक्दै इस्लामी सेनातर्फ बढे। यसै बेला हाम्रा प्यारा नबीले केही असहाबलाई भन्नुभयो: “अबू सुफयानमाथि आँखा-कान राख। तिमीहरूले उनलाई पक्कै भेट्टाउनेछौ!” कुरैशीहरू जति अघि बढ्थे, उनीहरूको अचम्म उति बढ्थ्यो, डरले थरथर हुन्थे। मक्काको वरिपरि कति धेरै सैनिक जम्मा भएका रहेछन्, कति धेरै आगो बालेका रहेछन्!… यस्तै कुरा गर्दै-गर्दै उनीहरू अराक भन्ने ठाउँमा आइपुगे।

“या रब! हामी अचानक उनीहरूको भूमिमा नपुगुन्जेल कुरैशका जासुस र खबर ल्याउनेहरूलाई रोकिदिनुहोस्, उनीहरूलाई नदेख्ने र नसुन्ने बनाइदिनुहोस्। उनीहरूले हामीलाई अचानक देखून् र सुनून्!” हदीसे शरीफ

ठीक यही बेला प्यारा नबीले भन्नुभयो: “अबू सुफयान अहिले अराकमा छन्।” त्यही बेला हजरत अब्बास पनि तुरुन्तै अराकतर्फ लाग्नुभयो र मनमनै भन्नुभयो: “त्यहाँ पक्कै कसैलाई भेट्टाएर मक्का पठाउँछु; उसले इस्लामी सेना उनीहरूमाथि आउँदै छ भनेर खबर देओस्, अनि मक्कावासीहरू पनि युद्ध सुरु हुनुअघि नै रसूलुल्लाह अलैहिस्सलामकहाँ आएर अमान मागून्।” यसैका लागि त्यतातिर कसैलाई खोज्दै गर्दा उहाँले अबू सुफयानलाई स्वरबाट चिन्नुभयो र “या अबा हन्जला!” भनेर पुकार्नुभयो। अबू सुफयानले पनि उहाँलाई चिनेर भने: “हे अबुल फज्ल! तिमी पो रहेछौ! मेरा आमाबुबा तिमीमाथि कुर्बान होऊन्!” त्यसपछि दुवैजना सँगै इस्लामी छाउनीतर्फ लागे…

बाटोमा अबू सुफयानले हजरत अब्बाससँग सोधे: “के खबर छ?” उहाँले भन्नुभयो: “हे अबू सुफयान! धिक्कार छ तिमीलाई! रसूल अलैहिस्सलाम तिमीहरूले सामना गर्नै नसक्ने सेना लिएर तिमीहरूमाथि आउँदै हुनुहुन्छ। म कसम खान्छु, कुरैशको हालत बिजोग हुनेछ। हाय, उनीहरूमाथि आइपर्ने कुरा!” अबू सुफयान र उनका साथीहरू ठूलो आशा बोकेर मुजाहिदहरूका बीचबाट हिँड्दै हाम्रा प्यारा नबीको हुजूरे शरीफमा आइपुगे। सारा सृष्टिका सुल्तानले उनीहरूलाई राम्ररी स्वागत गर्नुभयो। मक्कावासीबारे जानकारी लिनुभयो। राति अबेरसम्म कुरा गरेपछि उनीहरूलाई इस्लाममा बोलाउनुभयो। हकीम बिन हिजाम र बुदैल तुरुन्तै कलिमाए शहादत पढेर मुसलमान हुनुभयो, (रदियल्लाहु अन्हुमा)। तर अबू सुफयानको दोधार अझै कायम थियो। बिहान भएपछि दयाका सागर हाम्रा प्यारा नबीले भन्नुभयो: “हे अबू सुफयान! धिक्कार छ तिमीलाई! अल्लाह तआलाबाहेक कोही इलाह छैन भन्ने कुरा बुझ्ने समय अझै आएन र?” उनले भने: “मेरा आमाबुबा तपाईँमाथि कुर्बान होऊन्! नरम स्वभाव, उच्च मर्यादा र नातागोताको हक राख्नेमा तपाईँलाई कसैले उछिन्न सक्दैन। हामीले तपाईँलाई यत्रो दुःख दिएपछि पनि तपाईँ अझै हामीलाई हिदायतको बाटोमा बोलाउँदै हुनुहुन्छ। तपाईँ कति उदार हुनुहुन्छ! अल्लाहबाहेक कोही इलाह छैन भन्ने मैले विश्वास गरेँ… यदि अर्को भएको भए मलाई केही काम लाग्ने थियो। तपाईँ अल्लाहका रसूल हुनुहुन्छ।” यसो भनेर उहाँ असहाबे किराममा गनिने सौभाग्यले धन्य हुनुभयो, रदियल्लाहु अन्हु।८

हजरत अब्बासले भन्नुभयो: “या रसूलल्लाह! मक्कावासीका बीचमा अबू सुफयानको इज्जत बढाउने केही कुरा दिनुहुन्छ कि?” प्यारा नबीले यो कुरा स्वीकार्नुभयो र भन्नुभयो: “जसले अबू सुफयानको घरमा पसेर शरण लिन्छ, उसलाई अमान दिइएको छ, ऊ मारिनबाट जोगिन्छ।” हजरत अबू सुफयानले “या रसूलल्लाह! अलि अझ फराकिलो पारिदिनुहुन्छ कि?” भनेर बिन्ती गर्नुहुँदा हाम्रा प्यारा नबीले भन्नुभयो: “जसले मस्जिदे हराममा पसेर शरण लिन्छ, उसलाई अमान दिइएको छ! जसले आफ्नो ढोका थुनेर घरमै बस्छ, उसलाई अमान दिइएको छ।” इस्लामी सेनाको रवाफ र सङ्ख्या देखेर अबू सुफयानले मक्काका मुशरिकहरूलाई सुनाउन सकून् भनेर रसूले अकरम (सल्लल्लाहु अलैहि व सल्लम)ले हजरत अब्बासलाई भन्नुभयो: “उनलाई उपत्यका साँघुरिने, घोडाहरू खाँदिँदै गुज्रने पहाडी घाँटीमा लैजाऊ। मुसलमानहरूको, अल्लाह तआलाको सेनाको भव्यता उनले देखून्।”

अबू सुफयानले यो देख्नैपर्थ्यो, ताकि आफूले देखेको दृश्य मुशरिकहरूलाई सुनाऊन् र विरोध गर्ने कोही नहोस्… यसरी हरमे शरीफमा रगत नबगोस्… हजरत अब्बास अबू सुफयानलाई लिएर पहाडी भञ्ज्याङतिर जाँदै गर्दा मुजाहिदहरू युद्धको पङ्क्तिमा उभिए। हरेक कबिला आफ्ना झन्डा फहराउँदै भञ्ज्याङबाट गुज्रन थाले। सबैले कवच लगाएका, हतियार भिरेका थिए। हरेक टोली गुज्रँदा तकबीर भन्थ्यो। हजरत अबू सुफयान “यी को हुन्?” भनेर सोध्नुहुन्थ्यो, हजरत अब्बास जवाफ दिनुहुन्थ्यो: “यी बनू सुलैम हुन्! यिनका सेनापति खालिद बिन वलीद हुन्!” “यी बनू गिफार हुन्!” “यी बनू काब हुन्!…” “अल्लाहु अकबर! अल्लाहु अकबर!” भन्ने नाराले धर्ती र आकाश भरिएका थिए; मुजाहिदहरूको भीड र हतियारको चमकले आँखा तिर्मिराउँथे। हजरत अबू सुफयानलाई सबैभन्दा बढी उत्सुकता फख्रे आलम (सल्लल्लाहु अलैहि व सल्लम)बारे थियो। फख्रे आलमको वरिपरिको सेना कसरी गुज्रन्छ भनेर उहाँ साह्रै उत्सुक हुनुहुन्थ्यो; त्यो अरूभन्दा फरक होला भन्ने अड्कल गर्नुहुन्थ्यो। त्यसैले “के यो रसूलुल्लाहको टोली हो?” भनेर बारम्बार सोध्नबाट आफूलाई रोक्न सक्नुहुन्नथ्यो… आखिर नबीहरूका सुल्तान, सारा संसारका सरदार सूर्यझैँ नूर छर्दै आफ्नो ऊँटनी कस्वामाथि देखा पर्नुभयो। उहाँको वरिपरि मुहाजिर र अन्सार थिए। हरेकजना टाउकोदेखि पैतालासम्म दाऊदी कवचले ढाकिएका, हिन्दुस्तानी तरबार भिरेका र असल नस्लका घोडा र ऊँट चढेका थिए।

यिनलाई देखेर हजरत अबू सुफयानले उत्सुक हुँदै सोध्नुभयो: “हे अब्बास, यी को हुन्?” उहाँले भन्नुभयो: “बीचमा हुनुहुने रसूल अलैहिस्सलाम हुनुहुन्छ। वरिपरिका चाहिँ शहीद हुने प्रेमले जलिरहेका अन्सार र मुहाजिर हुन्!…” उहाँहरूको छेउबाट गुज्रँदा हाम्रा प्यारा नबी (सल्लल्लाहु अलैहि व सल्लम)ले हजरत अबू सुफयानलाई भन्नुभयो: “आज अल्लाह तआलाले काबाको शान उच्च पार्नुहुने दिन हो। आज बैतुल्लाहमा गिलाफ ओढाइने दिन हो! आज दयाको दिन हो… आज अल्लाह तआलाले कुरैशलाई (इस्लामले) इज्जतदार बनाउनुहुने दिन हो।”

हजरत अबू सुफयानले देख्नुपर्ने देखिसक्नुभएको थियो, सुन्नुपर्ने सुनिसक्नुभएको थियो। “मैले कैसरको पनि, किसराको पनि राजसी वैभव देखेको छु। तर यति भव्य कहिल्यै देखेको थिइनँ। आजजस्तो सेना र जमाअत मैले कहिल्यै भेटेको थिइनँ। यस्तो सेनाको सामना कसैले गर्न सक्दैन। यिनीहरूसँग कसैको बल पुग्दैन” भन्दै उहाँ मक्काको बाटो लाग्नुभयो…

“जसले अबू सुफयानको घरमा पसेर शरण लिन्छ, उसलाई अमान दिइएको छ, ऊ मारिनबाट जोगिन्छ… जसले मस्जिदे हराममा पसेर शरण लिन्छ, उसलाई अमान दिइएको छ! जसले आफ्नो ढोका थुनेर घरमै बस्छ, उसलाई अमान दिइएको छ” हदीसे शरीफ

अबू सुफयान मक्का आइपुग्नुभयो र उत्सुकतासाथ पर्खिरहेका मुशरिकहरूलाई आफू मुसलमान भएको घोषणा गरेपछि भन्नुभयो: “हे कुरैशको जमाअत! मुहम्मद अलैहिस्सलाम तिमीहरूले थेग्नै नसक्ने ठूलो सेना लिएर तिमीहरूको छेउमै आइपुग्नुभएको छ। बेकारमा आफैँलाई धोका नदेऊ। मुसलमान होऊ, ताकि बच्न सक। मैले तिमीहरूले नदेखेको देखेँ। अनगिन्ती वीर, घोडा र हतियार देखेँ। उनीहरूसँग कसैको बल पुग्दैन। जो अबू सुफयानको घरमा पस्छ, उसलाई अमान दिइएको छ, ऊ मारिनबाट जोगिएको छ। जसले बैतुल्लाहमा शरण लिन्छ, उसलाई अमान दिइएको छ। जो आफ्नो घरमा पसेर ढोका थुन्छ, उसलाई पनि अमान दिइएको छ।”९

यो सुनेर मुशरिकहरूमध्ये केही कट्टरहरू हजरत अबू सुफयानको विरोधमा उत्रिए र उहाँलाई अपमान गरे। अझ इस्लामी सेनाको सामना गर्न हतार-हतार तयारी गर्न थाले। तर यिनको सङ्ख्या निकै थोरै थियो। अरूले यिनको वास्ता नगरी आ-आफ्नो घरतिर दौडे। केहीले मस्जिदे हराममा शरण लिए।

सरवरे आलम (सल्लल्लाहु अलैहि व सल्लम) र गौरवशाली सहाबीहरू (रदियल्लाहु अन्हुम) जी तुवा उपत्यकामा आएर भेला हुनुभयो। सारा संसारका सरदारले आफ्ना मुबारक आँखाले असहाबे किरामलाई एकपल्ट नियालेपछि उहाँको सम्झनामा आठ वर्षअघि मक्काबाट निस्केको, हिजरत गरेको दिन आयो। त्यस बेला मुशरिकहरूले उहाँको धन्य घर घेरेका थिए; उहाँ यासीन शरीफका आयते करीमा पढ्दै निस्कनुभएको थियो, हजरत अबू बकरसँग कसैले नदेख्ने गरी सौर गुफामा पस्नुभएको थियो र मक्काको सिमाना छोड्नुअघि अन्तिम पटक त्यसलाई हेरेर यसो भन्नुभएको थियो:

“(हे मक्का!) अल्लाहको कसम, मलाई थाहा छ, अल्लाह तआलाले सृष्टि गर्नुभएका ठाउँहरूमध्ये तिमी सबैभन्दा उत्तम हौ। मेरा रबको नजरमा पनि, मेरो नजरमा पनि तिमी सबैभन्दा प्यारी हौ। मलाई तिमीबाट जबरजस्ती ननिकालिएको भए म तिमीबाट निस्कने थिइनँ, तिमीलाई छाड्ने थिइनँ।” त्यो पीडाको घडीमा जिब्रील अलैहिस्सलामले सूरा कससको ८५औँ आयते करीमा पढेर उहाँको मुबारक मनलाई सान्त्वना दिनुभएको र मक्का मुकर्रमा फर्कनुहुनेछ भन्ने खुसीको खबर दिनुभएको, अनि मुठ्ठीभर असहाबका साथ बद्र, उहुद, खन्दक, खैबर र मूतामा शत्रुमाथि कसरी विजयी हुनुभयो, ती सबै उहाँले सम्झनुभयो। अहिले बाह्र हजार असहाब पुतलीझैँ उहाँको वरिपरि घुमिरहनुभएको थियो, मक्का पस्न उहाँको एउटा आदेश पर्खिरहनुभएको थियो। सरवरे आलमले सबैभन्दा गहिरो कृतज्ञता र आभारले भरिएर यी सबै कुरा दिनुहुने अल्लाह तआलाको हम्द गर्नुभयो। विनम्रतापूर्वक आफ्नो मुबारक शिर निहुराउनुभयो। फख्रे कायनातले आफ्ना वीर असहाबलाई चार समूहमा बाँड्नुभयो। दाहिने भागको कमान हजरत खालिद बिन वलीदलाई, देब्रे भागको कमान हजरत जुबैर बिन अव्वामलाई, पैदल सेनाको अगुवाइ हजरत अबू उबैदा बिन जर्राहलाई र अर्को समूहको जिम्मा हजरत साद बिन उबादालाई सुम्पनुभयो। हजरत खालिद मक्काको दक्षिणबाट पस्नुहुने थियो, मुशरिकहरूमध्ये जसले विरोध गर्छ उसलाई सजाय दिनुहुने थियो र सफा डाँडामा फख्रे कायनातसँग मिल्नुहुने थियो। हजरत जुबैर मक्काको उत्तरबाट पस्नुहुने थियो, हजून भन्ने ठाउँमा आफ्नो झन्डा गाडेर सरवरे आलमलाई पर्खनुहुने थियो। पश्चिमबाट हजरत साद बिन उबादा अघि बढ्नुहुने थियो।१०

“आज अल्लाह तआलाले काबाको शान उच्च पार्नुहुने दिन हो। आज बैतुल्लाहमा गिलाफ ओढाइने दिन हो! आज दयाको दिन हो… आज अल्लाह तआलाले कुरैशलाई (इस्लामले) इज्जतदार बनाउनुहुने दिन हो” हदीसे शरीफ

रसूले अकरमले आफ्ना सेनापतिहरूलाई भन्नुभयो: “तिमीहरूमाथि आक्रमण नभएसम्म तिमीहरू कसैसँग पनि कुनै हालतमा लडाइँमा उत्रनेछैनौ। कसैलाई पनि मार्नेछैनौ।” तर नाम तोकिएकाहरूमध्ये जो समातिन्छ, काबाको गिलाफमुनि लुकेको भए पनि उसको टाउको उडाइने थियो।११

सत्य आयो, असत्य मेटियो

खालिद बिन वलीद आउँदै छन् भन्ने खबर पाएपछि इक्रिमा बिन अबी जहल, सफवान बिन उमय्या र सुहैल बिन अम्र, बनू बक्र र बनू हारिसका केही मानिससहित बाटोको मुख छेकेर पर्खन थाले। मुजाहिदहरूमध्ये सबैभन्दा पहिले हजरत खालिद बिन वलीद अघि बढ्नुभयो। मक्काको दक्षिणबाट खन्दमा पहाडको फेदमा पुग्दा कट्टर कुरैशी मुशरिकहरूले आफूहरूमाथि काँड बर्साइरहेको उहाँले देख्नुभयो। दुईजना मुजाहिद शहीद भइसक्नुभएको थियो: एकजना कुर्ज बिन जाबिर, अर्का हबश बिन अशअर। हजरत खालिदले युद्धको पङ्क्तिमा उभिएका आफ्ना सैनिकलाई “हारेर भाग्नेहरूलाई मात्र मारिनेछैन” भन्ने आदेश दिनुभयो र उहाँहरू अघि हुत्तिनुभयो। एकै झट्कामा मुशरिकहरूलाई पछाडि धपाउँदै मस्जिदे हरामसम्म पुग्नुभयो। झडपमा सत्तरीजना मुशरिक मारिए।१२ केही मुशरिक पहाडका टुप्पोतिर, केही आ-आफ्नो घरतिर भागे।

मक्का मुकर्रमाको विजय

अरू दिशाबाट पवित्र मक्कामा पस्नुभएका गौरवशाली सहाबीहरूले कुनै प्रतिरोध भेट्नुभएन। मार्ने आदेश दिइएकाहरूमध्ये पाँचजना समातिए र तुरुन्तै तिनलाई सजाय दिइयो। अरू मक्काबाट भागे। रमजानको बीसौँ दिन, बिहीबार मुजाहिदहरू ठूलो उत्साहका साथ छाल-छाल बनेर “अल्लाहु अकबर! अल्लाहु अकबर!” भन्ने तकबीरका बीच मक्कामा पस्दै हुनुहुन्थ्यो। सरवरे आलम (सल्लल्लाहु अलैहि व सल्लम) आफ्नो ऊँटनी कस्वामाथि, पछाडि उसामा बिन जैदलाई बसालेर ठूलो विनम्रताका साथ आफू जन्मनुभएको पवित्र सहर मक्कामा पस्दै हुनुहुन्थ्यो। आफूलाई यी दिन देखाउनुहुने अल्लाह तआलाको हम्द गर्दै हुनुहुन्थ्यो र मक्का विजयको खुसीको खबर दिने सूरा फत्ह तिलावत गर्दै हुनुहुन्थ्यो।

फख्रे कायनात ठूलो खुसीका साथ आफ्ना विजयी असहाबका बीचबाट काबा मुअज्जमातर्फ लाग्नुभयो। दाहिनेपट्टि हजरत अबू बकर र देब्रेपट्टि हजरत उसैद बिन हुजैरलाई साथमा लिएर काबा मुअज्जमानजिक पुग्नुभयो। हजरे अस्वदको जियारत गरेपछि तल्बिया र तकबीर भन्नुभयो। सहाबीहरूले पनि साथ दिनुभयो र “अल्लाहु अकबर! अल्लाहु अकबर!” भन्ने आवाजले मक्का मुकर्रमाको आकाश गुन्जिन थाल्यो। यो उच्च दृश्यका सामु मुसलमानहरू खुसीका आँसु बगाउँदै थिए; हरमे शरीफमा शरण लिएका र घरभित्र थुनिएका मुशरिकहरू भने डराउँदै पर्खिरहेका थिए।

त्यसपछि सारा संसारका सरदार र उहाँका गौरवशाली असहाबले तवाफ सुरु गर्नुभयो। तवाफको सातौँ चक्कर पनि सकेपछि ऊँटबाट ओर्लनुभएका हाम्रा प्यारा नबीले मकामे इब्राहीममा दुई रकअत नमाज पढ्नुभयो। त्यसपछि हजरत अब्बासले इनारबाट निकालेको जमजम पिउनुभयो। जमजमले वुजू गर्ने इच्छा गर्नुभयो। फख्रे कायनातले वुजू गर्दै गर्दा हाम्रा प्यारा नबीको मुबारक शरीर छोएको वुजूको पानी असहाबे किराम भुइँमा खस्नै नदिई हावामै खोसाखोस गर्न थाल्नुभयो। यो देखेर मुशरिकहरू “हामीले जीवनमा यस्तो राजा न देखेका छौँ, न सुनेका नै छौँ” भन्दै छक्क परे। सरवरे आलम (सल्लल्लाहु अलैहि व सल्लम)ले काबाको वरिपरि ढुङ्गा र काठले बनेका सबै मूर्ति ढाल्ने इच्छा गर्नुभयो। भावार्थमा “सत्य आएपछि असत्य हट्छ, असत्य त सधैँ हट्ने नै हो”१३ भनिएको आयते करीमा पढ्दै आफ्नो मुबारक हातमा भएको लौरो मूर्तितिर तेर्स्याउनुभयो। लौरोले छोएको हरेक मूर्ति एकपछि अर्को गर्दै घोप्टो परेर ढल्यो। तीन सय साठीवटा मूर्ति धुलोपिठो पारिए।१४ जुहरको समय भएपछि रसूले अकरमले हजरत बिलाललाई काबामा अजाने मुहम्मदी दिन आदेश दिनुभयो। उहाँले तुरुन्तै यो पवित्र कर्तव्य पूरा गर्नुभयो। अजान हुँदै गर्दा मोमिनहरूका हृदयमा अपार खुसी उर्लिन्थ्यो, मुशरिकहरू भने गहिरो पीडा र शोकले भित्रभित्रै जल्थे।१५

हाम्रा प्यारा नबीले काबाको साँचो माग्नुभयो। साँचो ल्याइयो। भित्रका चित्र र ढालिएका सबै मूर्ति सफा गराउनुभएपछि उहाँ काबाभित्र पस्नुभयो।

उहाँसँग हजरत उसामा बिन जैद, हजरत बिलाल र हजरत उस्मान बिन तल्हा हुनुहुन्थ्यो। भित्र प्यारा नबीले ढोकालाई पिठ्युँतिर पारेर दुई रकअत नमाज पढ्नुभयो। हरेक कुनामा तकबीर भन्नुभयो र दुआ गर्नुभयो। हजरत खालिद बिन वलीद ढोकाअगाडि उभिएर मानिसहरू त्यहाँ थुप्रिन नदिने प्रयास गरिरहनुभएको थियो।

“सत्य आएपछि असत्य हट्छ, असत्य त सधैँ हट्ने नै हो” इसरा: ८१

सारा सृष्टिका सुल्तानले काबाको ढोकाका दुवै पल्ला आफ्ना दुवै मुबारक हातले समात्नुभएको थियो। सबै कुरैशी मस्जिदे हराममा खचाखच भरिएका थिए र डरमिश्रित आशाले हाम्रा प्यारा नबीलाई हेरिरहेका थिए। किनभने उनीहरूले प्यारा नबीको अपमान गरेका थिए, कुट्न खोजेका थिए, उहाँको ज्यान लिन खोजेका थिए! उहाँका असहाबलाई हर किसिमको यातना दिएका थिए। घाँटीमा डोरी बाँधेर घिसारेका थिए। आगोमा फालेर जलाउन खोजेका थिए। रापिएका ढुङ्गा छातीमा राखेर बेहोस नहुन्जेल यातना दिएका थिए। आगोमा रातो पारिएका सिक शरीरमा घोचेका थिए। तीन वर्षसम्म भोकै-तिर्खै एउटा टोलमा थुनेर सबै कुराबाट वञ्चित गरेका थिए। खुट्टामा ऊँट बाँधेर उल्टो दिशामा तान्दै टुक्राटुक्रा पारेका थिए। सबैभन्दा माथि, उहाँहरूलाई आफ्नो जन्मथलोबाटै निकालेका थिए। यत्तिले नपुगेझैँ उहाँहरूलाई सखाप पार्न कति पटक युद्ध गरेका थिए। तर यति हुँदाहुँदै पनि उनीहरू आशावादी थिए। किनभने उनीहरूको सामु सारा संसारका लागि रहमत बनाएर पठाइनुभएका दयाका सागर हुनुहुन्थ्यो। केही बेर उनीहरूलाई हेरेपछि हाम्रा प्यारा नबीले भन्नुभयो: “हे कुरैशको जमाअत! अब म तिमीहरूमाथि के गर्छु होला भन्ने ठान्छौ?” उनीहरूले भने: “हामी तिमीबाट भलाइ नै अपेक्षा गर्छौँ, भलाइकै आशा गर्छौँ। किनभने तिमी हाम्रो उदार भाइ हौ, उदार र भलो गर्ने हाम्रो भाइको छोरा हौ। तिमीले हामीमाथि जित हासिल गर्‍यौ। तिमीबाट दयाको आशा गर्छौँ।” रसूले अकरम (सल्लल्लाहु अलैहि व सल्लम) उनीहरूतिर हेरेर मुस्कुराउनुभयो र भन्नुभयो: “मेरो र तिमीहरूको हाल यूसुफ (अलैहिस्सलाम)ले आफ्ना दाजुभाइलाई भनेजस्तै हुनेछ। उहाँले जस्तै म पनि भन्छु: ‘आज म अब तिमीहरूलाई तिमीहरूले गरेका कामको हिसाब सोध्नेछैनँ (तिमीहरूका गल्ती तिमीहरूकै मुखमा बजार्नेछैनँ)। अल्लाह तआलाले तिमीहरूलाई मगफिरत दिऊन्।’१६ जाऊ। तिमीहरू स्वतन्त्र छौ, मुक्त छौ।”

यो महान् दयाले कठोर हृदयलाई नरम पार्‍यो, घृणालाई मायामा बदलिदियो। सारा संसारका सरदारले उनीहरूलाई इस्लाममा बोलाउनुहुँदा उनीहरू मुसलमान हुन भेला भए।

हाम्रा प्यारा नबी आफ्नो नुबुव्वत कुरैशलाई पहिलो पटक सुनाउनुभएको र उनीहरूलाई इस्लाममा बोलाउनुभएको सफा डाँडामा उक्लनुभयो। त्यहीँ फेरि साना-ठूला, महिला-पुरुष सबै मक्कावासीको बैअत स्वीकार गर्नुभयो। यसरी कुरैशीहरू मुसलमान भएर असहाबे किरामको पङ्क्तिमा सामेल हुने सौभाग्य पाए। पुरुषहरूसँग वचन लिएपछि महिलाहरूबाट पनि केही कुरामा वचन लिइयो।१७ अल्लाह तआलासँग शिर्क नगर्नु, प्यारा नबीको अवज्ञा नगर्नु, चोरी नगर्नु, आफ्नो इज्जत र चरित्र जोगाउनु, बुह्तान (झूटो आरोप) नलगाउनु र छोरीहरूलाई नमार्नु ती कुरामध्ये थिए। प्यारा नबी (सल्लल्लाहु अलैहि व सल्लम)को सामु रहेका महिलाहरूले यी सबै स्वीकार गरे र मुखले मात्र वचन दिएर प्रतिज्ञा गरे। रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम)ले उनीहरूका लागि भलाइको दुआ गर्नुभयो र उनीहरूका लागि माफी माग्नुभयो।

अबू सुफयानकी पत्नी र मुआविया (रदियल्लाहु अन्हुमा)की आमा हिन्द (रदियल्लाहु अन्हा) पनि उनीहरूमाझ हुनुहुन्थ्यो, अझ उनीहरूकी अगुवा हुनुहुन्थ्यो। महिलाहरूको यस बैअतमा महिलाहरूका तर्फबाट उहाँले नै बोल्नुभयो। (यस प्रतिज्ञा र यो इस्तिगफारको दुआ पाउनुभएकाले उहाँले सफलता पाउनुभयो भन्ने ठूलो आशा गरिन्छ। मुसलमान महिलामध्ये जसले पनि यी सर्त स्वीकार गरेर पालन गर्छिन्, उनी यस प्रतिज्ञामा समावेश भएको मानिन्छ र यस दुआबाट लाभ पाउँछिन्।) मुसलमान भएका सबैले आफ्ना घरका सबै मूर्ति फोडे। वरपरका कबिलाहरूमा सैनिक टोली पठाएर त्यहाँका मूर्ति पनि धुलोपिठो पारियो। यसरी सत्य आउनासाथ असत्यको जरै उखेलियो।

दण्डित व्यक्तिहरू

इस्लामका सुरुका दिनदेखि हिजरतको आठौँ वर्षसम्म विभिन्न अपराधका कारण मृत्युदण्डको फैसला भएका मानिसहरू थिए। रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम)ले तिनका (पुरुषमध्ये एघारजना र महिलामध्ये छजनाका) नाम लिनुभयो र आदेश दिनुभयो: “यी मानिसहरूलाई जहाँ देख्छौ, त्यहीँ मार।” दण्डित पुरुषहरू यी थिए: इक्रिमा बिन अबी जहल, वहशी बिन हर्ब हबशी, अब्दुल्लाह बिन अबी सर्ह, हब्बार बिन अस्वद, सफवान बिन उमय्या, काब बिन जुहैर, अब्दुल्लाह बिन जिबअरी, अब्दुल उज्जा बिन खतल, हुवैरिस बिन मुआज, मकीस बिन सबाबा र हारिस बिन तुला। महिलाहरू चाहिँ यी थिए: हिन्द बिन्त उत्बा, करीता, करीते, इब्ने हन्जलाकी अर्की एक दासी, बनू अब्दुल मुत्तलिबकी दासी सारा र उम्मे साद।

दया पाउनेहरू

हिन्द बिन्त उत्बा: मुसलमान भएका महिलाहरूमध्ये, मारिनुपर्नेहरूको सूचीमा नाम भएकी हजरत अबू सुफयानकी पत्नी हिन्द पनि हुनुहुन्थ्यो। तर सारा संसारका लागि रहमत हुनुहुने हाम्रा प्यारा नबीले उहाँलाई पनि क्षमा गरिदिनुभएको थियो। मुसलमानहरूले उहाँबाट धेरै दुःख र कष्ट पाएका थिए। हजरत हमजा र उहुदका अरू शहीदहरूमाथि गरिएका यातना उहाँकै भनाइमा गरिएका थिए। मक्का विजयको दिन फख्रे आलम (सल्लल्लाहु अलैहि व सल्लम) सफा डाँडामा उक्लेर बस्नुभयो। हजरत उमरुल फारूक उहाँभन्दा अलि तल बस्नुभयो। पहिले पुरुष, त्यसपछि महिला एक-एक गर्दै आएर मुसलमान भए। महिलाहरूमाझ हजरत अलीकी दिदी उम्मे हानी र हजरत मुआवियाकी आमा हिन्द पनि हुनुहुन्थ्यो। हिन्दले रसूलुल्लाहसँग बैअत गर्नुभयो। महिलाहरूका तर्फबाट रसूलुल्लाहसँग प्रतिज्ञा गर्नुभयो र भलाइको दुआ पाउनुभयो।

इक्रिमा बिन अबी जहल: अबू जहलका छोरा। पुरुषहरूमध्ये दया पाउनेमा उनी पनि थिए। विजयको दिन एकजना सहाबीलाई शहीद गरेर उनी यमन भागे। यो खबर रसूलुल्लाहकहाँ पुग्दा उहाँ मुस्कुराउनुभयो। असहाबले यसको कारण सोध्नुहुँदा भन्नुभयो: “इक्रिमा र उनले शहीद गरेका व्यक्ति हातमा हात समातेर जन्नतमा घुमिरहेका छन्।” उनकी आफ्नै श्रीमती उम्मे हकीम बिन्त हारिस बिन हिशाम महिलाहरूको बैअतमा मुसलमान हुनुभएको थियो र रसूलुल्लाहसँग इक्रिमाका लागि अमान माग्नुभएको थियो। इक्रिमा उम्मे हकीमसँग मक्का फर्कनुभयो, रसूलुल्लाहको सामु आएर माफी माग्नुभयो। रसूलुल्लाहले पनि हात फैलाएर उहाँका लागि मगफिरत माग्नुभयो। ईमान ल्याएपछि इक्रिमा (रदियल्लाहु अन्हु)ले धेरै मेहनत र प्रयास गर्नुभयो। उहाँ असहाबे किरामका वीरहरूमध्ये एक बन्नुभयो। उमान र यमनमा जिहाद गर्नुभयो र यर्मूकको युद्धमा शहीद हुनुभयो।

वहशी बिन हर्ब हबशी: उहुदको गजवामा उनले हजरत हमजा (रदियल्लाहु अन्हु)लाई शहीद गरेका थिए। मुसलमानहरू उनलाई मार्न साह्रै आतुर थिए। उहुदमा रसूलुल्लाहले केही काफिरलाई बद्दुआ गर्नुभएको थियो। “वहशीलाई किन लानत गर्नुहुन्न?” भनेर सोधिँदा उहाँले भन्नुभएको थियो: “मेराजको रात मैले हमजा र वहशीलाई हातमा हात मिलाएर सँगै जन्नतमा पसिरहेका देखेको थिएँ।” मक्का विजयको दिन वहशी भागे। पछुताएर ताइफका मानिसहरूसँग मदीनाको मस्जिदमा आए र सलाम गरे। रसूलुल्लाहले उनको सलामको जवाफ दिनुभयो। उहाँले ईमान ल्याउनुभयो र क्षमा पाउनुभयो। तर उहाँलाई यमामातिर जान आदेश दिइयो। रसूलुल्लाहको सामु साह्रै लज्जित भएर उहाँ शिर निहुराएर बाँच्नुभयो। फेरि कहिल्यै मदीना आउनुभएन। ईमान ल्याएपछि उहाँ पूर्ण रूपमा पवित्र हुनुभयो। सबै औलियाभन्दा माथि पुग्नुभयो।

“मेरो र तिमीहरूको हाल यूसुफ (अलैहिस्सलाम)ले आफ्ना दाजुभाइलाई भनेजस्तै हुनेछ। उहाँले जस्तै म पनि भन्छु: ‘आज म अब तिमीहरूलाई तिमीहरूले गरेका कामको हिसाब सोध्नेछैनँ (तिमीहरूका गल्ती तिमीहरूकै मुखमा बजार्नेछैनँ)। अल्लाह तआलाले तिमीहरूलाई मगफिरत दिऊन्’ (सूरा यूसुफ: ९२)। जाऊ। तिमीहरू स्वतन्त्र छौ, मुक्त छौ” हदीसे शरीफ

हिजरतको एघारौँ वर्षमा यमामामा मुर्तदहरूसँग निकै घमासान युद्ध भयो। मुसैलमाको सेनाका बीस हजार र खालिद इब्ने वलीदको सेनाका दुई हजार मानिस मारिए। सुरुमा मुसलमानहरूको पङ्क्ति खल्बलियो। त्यसपछि हजरत वहशीले वीरतासाथ हमला गर्नुभयो र हजरत हमजालाई शहीद गरेको त्यही भालाले मुसैलमतुल कज्जाबलाई मार्नुभयो।१८ यो देखेर मुसलमानहरूले आक्रमण गरे र विजय हासिल भयो। रसूलुल्लाहले कुनै बेला वहशीलाई यमामातिर पठाउनुभएको कुरा एउटा ठूलो मुजिजा रहेछ भन्ने यसरी प्रस्ट भयो। हिजरी बाह्रौँ वर्षमा भएको यर्मूकको युद्धमा पनि उहाँ सहभागी हुनुभयो र रूमीहरूविरुद्ध धेरै बहादुरी देखाउनुभयो। उहाँ हिम्समा बसोबास गर्नुभयो र हजरत उस्मानको समयमा त्यहीँ वफात हुनुभयो।

दोषीहरूको माफी स्वीकार्नुहुन्थ्यो क्षमा र कृपाले,
महान् स्वभावका, दयालु र कोमल हुनुहुन्थ्यो ती उदारताका खानी।
धनको मोह थिएन, गरिबी प्यारो थियो, त्यसमै गर्व गर्नुहुन्थ्यो,
गरिबलाई आफ्ना दाजुभाइ बनाउनुहुन्थ्यो ती उदारताका खानी।
लुगामा टालो हाल्नुहुन्थ्यो, खराउ पनि लगाउनुहुन्थ्यो,
हरेक बिरामीकहाँ पुगेर औषधि दिनुहुन्थ्यो ती उदारताका खानी।
आफ्ना अहले बैतका काम आफैँ खुसीसाथ गर्नुहुन्थ्यो,
सबै कठिनाइ सजिलो पारिदिनुहुन्थ्यो ती उदारताका खानी।
जौको रोटी र मुसुरोको झोलका लागि नै बोलाइए पनि,
निम्तो स्वीकारी पाहुना बन्नुहुन्थ्यो ती उदारताका खानी।
कहिले ऊँट, कहिले घोडा, कहिले खच्चर, कहिले गधा चढ्नुहुन्थ्यो,
कहिलेकाहीँ खाली खुट्टा हिँड्नुहुन्थ्यो ती सुल्तान, ती उदारताका खानी।