मेरा प्यारा नबी

प्यारा नबीको शफाअत

रसूले अकरम कियामतको दिन आफ्नो उम्मतको शफाअत गर्नुहुनेछ, उनीहरूलाई कष्ट र शोकबाट बचाउनुहुनेछ। एउटा हदीसे शरीफमा उहाँले भन्नुभयो: “मेरो आधा उम्मत जन्नतमा पस्ने कुरा र शफाअतमध्ये एउटा रोज्ने अधिकार मलाई दिइयो। मैले शफाअत रोजेँ। किनभने त्यो अझ व्यापक छ। त्यसलाई तकवामा पुगेकाहरूका लागि मात्र नठान; त्यो गल्तीमा परेका पापीहरूका लागि पनि हो…”१

हजरत अबू हुरैराले बयान गर्नुभएको हदीसे शरीफमा प्यारा नबीले भन्नुभयो: “मेरो शफाअत हृदयले जिब्रोलाई साँचो ठहराउने गरी, इखलासका साथ ‘ला इलाह इल्लल्लाह’ भनेर कलिमाए शहादत पढ्ने व्यक्तिका लागि हो।”२

केही हदीसे शरीफमा यसो भनिएको छ:

“मेरो उम्मतमध्ये मेरो अहले बैतलाई माया गर्नेहरूको म शफाअत गर्नेछु।” “मेरो उम्मतमध्ये ठूला पाप गर्नेहरूको म शफाअत गर्नेछु।” “मेरा असहाबको निन्दा गर्नेहरूबाहेक म सबैको शफाअत गर्न सक्छु।” “मेरो उम्मतमध्ये आफ्नो नफ्समाथि अन्याय गर्ने र आफ्नो नफ्सको धोकामा पर्नेहरूको म शफाअत गर्नेछु।” “कियामतको दिन सबैभन्दा पहिले म शफाअत गर्नेछु।”३

“मेरो शफाअतमा विश्वास नगर्नेले त्यो पाउन सक्दैन।”४

कियामतको दिन “सूर” फुकिँदाको भयले रौँ ठाडा हुन्छन्, आँखा कता हेर्ने भनेर अलमलिन्छन्, अनि मोमिन र काफिरहरूलाई महशरको मैदानतिर हाँकिन्छ। यो कियामतको दिनको कठोरता अझ बढाउने एउटा अजाब हो। त्यस बेला अर्शलाई आठ फरिश्ताले बोकेर लैजानुहुन्छ। तीमध्ये एउटा फरिश्ता एक पाइलामा बीस हजार वर्षको संसारको बाटो हिँड्नुहुन्छ। अर्शे आला नअडिउन्जेल फरिश्ता र बादलहरूले बुद्धिले बुझ्न नसक्ने तस्बीहहरूले तस्बीह गर्छन्। यसरी अर्शे आला अल्लाह तआलाले त्यसका लागि सृष्टि गर्नुभएको सेतो जमिनमाथि अडिन्छ। त्यस बेला कुनै पनि कुराले धान्न नसक्ने अल्लाह तआलाको अजाबका कारण शिरहरू तल झुक्छन्। सारा मानिस कष्टमा थुनिएर, अलमल्ल परेर दया खोज्छन्। महशरमा मानिसहरूको हाल झनै बिग्रिन्छ। उनीहरूको दुःख र कष्ट बढ्छ। संसारमा कसेर राखेको माल हरेकले आफ्नो घाँटीमा भिरेको हुन्छ। ऊँटको जकात नदिनेहरूको घाँटीमा ऊँट लादिन्छ। त्यो यसरी कराउँछ र यति गह्रौँ हुन्छ कि ठूला पहाडजस्तो बन्छ। गाईगोरु र भेडाको जकात नदिनेहरू पनि यस्तै हुन्छन्। तिनको चिच्याहट मानौँ मेघको गर्जनजस्तो हुन्छ।५ बालीको जकात, अर्थात् उश्र नदिनेहरूको घाँटीमा बालीका भारी लादिन्छन्। संसारमा जुन किसिमको बालीको जकात दिएको थिएन, त्यही किसिमका भारी लादिएका हुन्छन्। गहुँ भए गहुँ, जौ भए जौ लादिएको हुन्छ। त्यसको भारले मुनि थिचिएर “वावैला, वासबूरा” भनेर कराउँछ। (“वैल” अजाबको शब्द हो। मानिसले अजाब सहन नसक्दा यसरी कराउँछ। “सबूर” पनि बिनाशको बेला प्रयोग गरिन्छ।) सुन, चाँदी, (कागजी) पैसा र अरू व्यापारिक मालको जकात नदिनेहरूमाथि एउटा डरलाग्दो सर्प खटाइन्छ। उनीहरूले कराउँदै “यो के हो?” भनेर सोध्दा फरिश्ताहरू जवाफ दिनुहुन्छ: “यी संसारमा तिमीहरूले जकात नदिएका तिम्रा माल हुन्।” यही डरलाग्दो हाल सूरा आले इमरानको एक सय असीऔँ आयते करीमामा “संसारमा उनीहरूले कन्जुस्याइँ गरेका कुरा कियामतको दिन उनीहरूका घाँटीमा बेरिनेछन्” भन्ने भावार्थले बताइएको छ।

“मेरो शफाअतमा विश्वास नगर्नेले त्यो पाउन सक्दैन” हदीसे शरीफ

अर्को एउटा समूहको गुप्ताङ्गबाट पीप र घाउको पानी बग्छ। तिनको दुर्गन्धले वरिपरि भएकाहरूलाई साह्रै असजिलो हुन्छ। यिनीहरू व्यभिचार गर्ने र हराम काम गर्नेहरू हुन्। अर्को एउटा समूह रुखका हाँगामा झुन्डिन्छ। यिनीहरू संसारमा लिवातत गर्नेहरू हुन्।

अर्को एउटा समूहको जिब्रो मुखबाट निस्केर छातीसम्म झुन्डिएको हुन्छ; तिनको हाल अत्यन्त कुरूप हुन्छ। मानिसहरू तिनलाई हेर्नै चाहँदैनन्। यिनीहरू झूट बोल्ने र झूटो आरोप लगाउनेहरू हुन्।

अर्को एउटा समूहको पेट अग्ला पहाडजत्तिकै ठूलो भएको हुन्छ। यिनीहरू संसारमा बाध्यता नहुँदै र कारोबार नगरी ब्याजमा माल र पैसा लिनेदिने हुन्। यस्ता हराम काम गर्नेहरूका पाप नराम्ररी उदाङ्गो पारिन्छन्। नबीहरू र विद्वानहरूलाई डर लाग्छ। औलिया र शहीदहरू सहन गाह्रो हुने अल्लाह तआलाको अजाबका कारण पुकार गर्नुहुन्छ। उनीहरू यस हालमा हुँदा घामको नूरभन्दा धेरै बढी उज्यालो एउटा नूरले उनीहरूलाई ढाक्छ। घामको तापै सहन नसक्ने मानिसहरू यो देखेपछि पूरै अलमल्ल पर्छन्। हजार वर्षसम्म यही हालमा रहन्छन्। अल्लाह तआलाको तर्फबाट उनीहरूलाई केही भनिँदैन। त्यस बेला मानिसहरू पहिलो नबी आदम अलैहिस्सलामकहाँ गएर बिन्ती गर्छन्: “हे आदम अलैहिस्सलाम! तपाईँ प्रतिष्ठित र शरीफ नबी हुनुहुन्छ। अल्लाह तआलाले तपाईँलाई सृष्टि गर्नुभयो र फरिश्ताहरूलाई तपाईँतर्फ सज्दा गराउनुभयो। तपाईँमा आफ्नो रूहबाट फुक्नुभयो। हिसाब सुरु होस् भनेर हाम्रा लागि शफाअत गर्नुहोस्; अल्लाह तआलाले जे चाहनुहुन्छ, त्यसैअनुसार हाम्रो फैसला होस्, जहाँ जान आदेश दिनुहुन्छ, सबै त्यहीँ जाऊन्। हरेक कुराका हाकिम र मालिक अल्लाह तआलाले आफ्ना सृष्टिलाई जे चाहनुहुन्छ, त्यही गरून्।”

आदम अलैहिस्सलाम भन्नुहुन्छ: “मैले अल्लाह तआलाले निषेध गर्नुभएको रुखको फल खाएँ। यस बेला म अल्लाह तआलासँग लाज मान्छु। तर तिमीहरू नूहकहाँ जाऊ।” यो सुनेर मानिसहरू हजार वर्षसम्म आपसमा सल्लाह गर्दै बस्छन्। त्यसपछि नूह अलैहिस्सलामकहाँ गएर बिन्ती गर्छन्: “हामी कत्ति पनि सहन नसकिने हालमा छौँ। हाम्रो फैसला छिट्टै होस् भनेर शफाअत गर्नुहोस्। यो महशरको सजायबाट हामी छुटौँ।” नूह अलैहिस्सलाम उनीहरूलाई जवाफमा भन्नुहुन्छ: “मैले अल्लाह तआलासँग दुआ गरेँ। धर्तीमा जति मानिस थिए, त्यो दुआका कारण डुबे। त्यसैले म अल्लाह तआलासँग लाज मान्छु। तर तिमीहरू खलीलुल्लाह इब्राहीम अलैहिस्सलामकहाँ जाऊ। अल्लाह तआलाले सूरा हजको अन्तिम आयतमा भावार्थमा भन्नुभएको छ: ‘आफ्ना बुबा इब्राहीम (अलैहिस्सलाम)को धर्मको अनुसरण गर। नबी तिमीहरूका साक्षी हुनका लागि र तिमीहरू पनि मानिसहरूका साक्षी हुनका लागि अल्लाह तआलाले योभन्दा अघिका किताबहरूमा पनि, कुरआने करीममा पनि तिमीहरूको नाम मुसलमान राख्नुभएको छ।’ सायद उहाँले तिमीहरूको शफाअत गर्नुहुनेछ।”

फेरि पहिलेजस्तै उनीहरू आपसमा थप हजार वर्ष कुरा गर्छन्। त्यसपछि इब्राहीम अलैहिस्सलामकहाँ आएर भन्छन्: “हे मुसलमानहरूका बुबा! तपाईँ अल्लाह तआलाले आफ्नो खलील बनाउनुभएको व्यक्ति हुनुहुन्छ। हाम्रा लागि शफाअत गर्नुहोस्! अल्लाह तआलाले सृष्टिका बीचमा आफ्नो फैसला सुनाऊन्।” इब्राहीम अलैहिस्सलाम उनीहरूलाई भन्नुहुन्छ: “मैले संसारमा तीन पटक घुमाउरो कुरा गरेँ। ती कुरा भनेर धर्मको बाटोमा सङ्घर्ष गरेँ। अब यस ठाउँमा अल्लाह तआलासँग शफाअतको अनुमति माग्न मलाई लाज लाग्छ। तिमीहरू मूसा अलैहिस्सलामकहाँ जाऊ। किनभने अल्लाह तआलाले उहाँसँग कुरा गर्नुभयो र उहाँलाई आध्यात्मिक निकटता देखाउनुभयो। उहाँले तिमीहरूका लागि शफाअत गर्नुहुनेछ।” यो सुनेर फेरि हजार वर्षसम्म रोकिएर एकअर्कासँग सल्लाह गर्छन्। तर यस बेला उनीहरूको हाल अत्यन्त कठिन हुन्छ। महशरको मैदान साह्रै साँघुरो हुन्छ। त्यसपछि मूसा अलैहिस्सलामकहाँ आएर भन्छन्: “हे इब्ने इमरान! तपाईँ अल्लाह तआलाले कुरा गर्नुभएको, तौरात नाजिल गर्नुभएको नबी हुनुहुन्छ। हिसाब सुरु होस् भनेर हाम्रा लागि शफाअत गर्नुहोस्! किनभने यहाँ उभिएको हामीलाई धेरै लामो भयो। भीडले खुट्टाहरू एकअर्कामाथि खप्टिए।” मूसा अलैहिस्सलाम उनीहरूलाई भन्नुहुन्छ: “फिरऔनका मानिसहरूलाई वर्षौँसम्म मन नपर्ने कुराहरूले सजाय होस् भनेर मैले अल्लाह तआलासँग दुआ गरेँ। पछि आउनेहरूका लागि उनीहरू पाठ बनून् भनेर बिन्ती गरेँ। अब शफाअत गर्न मलाई लाज लाग्छ। तर जनाबे हक रहमत र मगफिरतका मालिक हुनुहुन्छ। तिमीहरू ईसा अलैहिस्सलामकहाँ जाऊ। किनभने यकीनका हिसाबले रसूलहरूमध्ये सबैभन्दा पक्का, मारिफत र जुह्दका हिसाबले सबैभन्दा अफजल र हिकमतका हिसाबले सबैभन्दा श्रेष्ठ उहाँ नै हुनुहुन्छ। उहाँले तिमीहरूको शफाअत गर्नुहुनेछ।” महशरको कष्टबाट छुटकारा पाउन त्यसपछि उनीहरू ईसा अलैहिस्सलामकहाँ आउँछन् र भन्छन्: “तपाईँ अल्लाह तआलाको रूह र कलिमा हुनुहुन्छ। अल्लाह तआलाले तपाईँका बारेमा सूरा आले इमरानको पैँतालीसौँ आयतमा भावार्थमा ‘संसार र आखिरतमा वजीह, अर्थात् अत्यन्त मूल्यवान् (प्रतिष्ठित र सम्मानित)’ भन्नुभएको छ। आफ्ना रबसँग हाम्रा लागि शफाअत गर्नुहोस्!”

ईसा अलैहिस्सलाम भन्नुहुन्छ: “मेरो कौमले मलाई र मेरी आमालाई अल्लाहबाहेक इलाह बनाए। यस्तो हालमा म कसरी शफाअत गरूँ? उनीहरूले मेरो पनि पूजा गरे; मलाई छोरा र अल्लाह तआलालाई बुबा भने। तर तिमीहरूमध्ये कसैको थैली छ, त्यसभित्र खर्च छैन र त्यसको मुख छाप लगाइएको छैन भन्ने तिमीहरूले देखेका छौ? त्यो छाप नतोडी त्यो खर्चमा पुग्न सकिन्छ र? नबीहरूमध्ये सबैभन्दा श्रेष्ठ र अन्तिम मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम)कहाँ जाऊ। किनभने उहाँ आफ्नो दावत र शफाअत आफ्नो उम्मतका लागि तयार राख्नुहुन्थ्यो। किनकि उहाँको कौमले उहाँलाई धेरै पटक सताए। उहाँको मुबारक निधार फोरे। मुबारक दाँत भाँचे। उहाँलाई बौलाहा भनेर आरोप लगाए। तर ती महान् नबी त गर्वका हिसाबले उनीहरूमध्ये सबैभन्दा असल र इज्जतका हिसाबले सबैभन्दा उच्च हुनुहुन्थ्यो। उनीहरूका सहन नसकिने सास्ती र अत्याचारको जवाफमा उहाँ यूसुफ अलैहिस्सलामले आफ्ना दाजुहरूलाई भन्नुभएको ‘आज अब म तिमीहरूले गरेका कामका लागि तिमीहरूसँग हिसाब माग्नेछैन (तिमीहरूका गल्ती तिमीहरूकै मुखमा भन्नेछैन)। अर्हमुर्राहिमीन जनाबे अल्लाहले तिमीहरूलाई मगफिरत गर्नुहुन्छ’६ भन्ने भावार्थ भएको आयते करीमाले जवाफ दिनुहुन्थ्यो।” ईसा अलैहिस्सलामले हाम्रा नबी (सल्लल्लाहु अलैहि व सल्लम)का फजीलतहरू बताउनुहुँदा सबै जना जतिसक्दो चाँडो उहाँकहाँ पुग्न चाहन्छन्। तुरुन्तै मुहम्मद अलैहिस्सलामको मिम्बरमा आउँछन् र भन्छन्: “तपाईँ हबीबुल्लाह हुनुहुन्छ! हबीब त सबैभन्दा फाइदाजनक वसीला हो। हाम्रा लागि शफाअत गर्नुहोस्! किनभने हामी नबीहरूमध्ये पहिलो आदम अलैहिस्सलामकहाँ गयौँ। उहाँले हामीलाई नूह अलैहिस्सलामकहाँ पठाउनुभयो। नूह अलैहिस्सलामकहाँ गयौँ। उहाँले इब्राहीम अलैहिस्सलामकहाँ पठाउनुभयो। इब्राहीम अलैहिस्सलामकहाँ गयौँ; उहाँले मूसा अलैहिस्सलामकहाँ पठाउनुभयो। मूसा अलैहिस्सलामकहाँ गयौँ; उहाँले ईसा अलैहिस्सलामकहाँ पठाउनुभयो; उहाँले पनि तपाईँकहाँ पठाउनुभयो। या रसूलल्लाह (सल्लल्लाहु अलैहि व सल्लम)! तपाईँपछि जाने अर्को ठाउँ छैन।”

“संसारमा उनीहरूले कन्जुस्याइँ गरेको (माल) कियामतको दिन उनीहरूका घाँटीमा बाँधिन्छ” आले इमरान: १८०

हजुर रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) भन्नुहुन्छ: “अल्लाह तआलाले अनुमति दिनुभयो र राजी हुनुभयो भने म शफाअत गर्छु।”

रसूलुल्लाह सुरादिकाते जलाल, अर्थात् जलालको पर्दासम्म पुग्नुहुन्छ। शफाअतका लागि अल्लाह तआलासँग अनुमति माग्नुहुन्छ। उहाँलाई अनुमति दिइन्छ। पर्दाहरू उठ्छन्। रसूलुल्लाह अर्शे आलामा पस्नुहुन्छ। सज्दामा झुक्नुहुन्छ। हजार वर्ष सज्दामै रहनुहुन्छ। त्यसपछि जनाबे हकको यस्तो हम्दले हम्द गर्नुहुन्छ कि संसार सृष्टि भएदेखि कसैले पनि अल्लाह तआलाको यसरी प्रशंसा गरेको छैन। केही आरिफहरूले भन्नुभएको छ: अल्लाह तआलाले संसारहरू सृष्टि गर्नुहुँदा आफैँलाई यस्तै हम्दहरूले प्रशंसा र सना गर्नुभएको थियो। अल्लाह तआलाले भावार्थमा भन्नुहुन्छ: “हे मुहम्मद, सज्दाबाट शिर उठाऊ! भन, सुनिन्छ। (जे भन्छौ, सुनिनेछ। जे माग्छौ, दिइनेछ।) शफाअत गर, कबूल गरिन्छ।” यो सुनेर प्यारा नबी (सल्लल्लाहु अलैहि व सल्लम) भन्नुहुन्छ: “या रब! आफ्ना बन्दाहरूमध्ये असल र खराबलाई छुट्याउनुहोस्, किनभने उनीहरूको समय अत्यन्त लामो भयो। हरेक आफ्ना पापका कारण अरसातको मैदानमा बेइज्जत र अपमानित भए।”

जनाबे हक जन्नत ल्याउने आदेश दिनुहुन्छ। जन्नतलाई हर किसिमका सजावटले सजाइन्छ। अरसातको मैदानमा ल्याइन्छ। त्यसको सुगन्ध यस्तो छ कि पाँच सय वर्षको बाटो टाढाबाट थाहा हुन्छ। यो हाल देखेर हृदयहरू हर्षित हुन्छन्। रूहहरू ब्युँझन्छन्। (तर काफिरहरू, मुर्तदहरू, मुसलमानहरूलाई गिज्याउनेहरू, युवाहरूलाई धोका दिएर उनीहरूको ईमान चोर्नेहरू र) अमल नापाक, खराब भएकाहरूले जन्नतको सुगन्ध पाउँदैनन्।

फरिश्ताहरू जहन्नमलाई साङ्लाले बाँधेर महशरको मैदानमा ल्याउनुहुन्छ। त्यस बेला जहन्नमको गर्जन, होहल्ला, आगो छर्काइ र सारा आकाश कालै पार्ने गाढा धुवाँ हुन्छ। त्यसको गर्जन, घडघडाहट र ताप सहन नसकिने हुन्छ। सबैका घुँडा गल्छन् र जहाँ छन् त्यहीँ थचक्क बस्छन्। अझ नबीहरू र रसूलहरूसमेत आफूलाई सम्हाल्न सक्नुहुन्न। हजरत इब्राहीम, हजरत मूसा, हजरत ईसा अर्शे आलालाई समातेर अडिनुहुन्छ। इब्राहीम अलैहिस्सलाम कुर्बानी दिन खोज्नुभएको इस्माईल अलैहिस्सलामलाई बिर्सनुहुन्छ। मूसा अलैहिस्सलाम आफ्ना दाजु हारून अलैहिस्सलामलाई र ईसा अलैहिस्सलाम आफ्नी आमा हजरत मरयमलाई बिर्सनुहुन्छ। हरेक भन्नुहुन्छ: “या रब! आज म आफ्नो नफ्सबाहेक अरू केही माग्दिनँ।”

मुहम्मद अलैहिस्सलाम भने भन्नुहुन्छ: “या रब! मेरो उम्मतलाई सलामती र नजात दिनुहोस्!” त्यहाँ यसलाई सहन सक्ने कोही हुँदैन। किनभने अल्लाह तआलाले यसको खबर दिँदै सूरा जासियाको अट्ठाइसौँ आयतमा भावार्थमा भन्नुभएको छ: “तिमी हरेक उम्मतलाई जनाबे हकको डरले घुँडा टेकेर बसेको देख्नेछौ। हरेकलाई संसारमा गरेका अमलहरूको किताबतर्फ बोलाइन्छ।”

अल्लाह तआलाले सूरा मुल्कको आठौँ आयतमा भावार्थमा भन्नुभएको छ: “रिस र प्रचण्डताको अधिकताले नार फाटेर दुई भाग हुन लागेजस्तो हुन्छ।”

यसपछि हाम्रा नबी (सल्लल्लाहु अलैहि व सल्लम) अगाडि आएर जहन्नमलाई रोक्नुहुन्छ। भन्नुहुन्छ: “तुच्छ र अपमानित भएर पछाडि फर्क, तिम्रा हकदारहरू हुल-हुल भएर तिमीकहाँ नआउन्जेल!” जहन्नम पनि भन्छ: “हे मुहम्मद! मलाई अनुमति दिनुहोस्! किनभने तपाईँ मेरा लागि हराम हुनुहुन्छ।” अर्शबाट आवाज आउँछ: “हे जहन्नम! मुहम्मद अलैहिस्सलामको वचन सुन र उहाँको आज्ञा मान!” त्यसपछि हजुर रसूलुल्लाह जहन्नमलाई तानेर अर्शे आलाको देब्रेपट्टिको एउटा ठाउँमा राख्नुहुन्छ। महशरमा भएकाहरू प्यारा नबीको यो दयालु व्यवहार र शफाअतको खुसीको खबर एकअर्कालाई सुनाउँछन्। उनीहरूको डर अलिकति घट्छ। सूरा अम्बियाको एक सय सातौँ आयते करीमाको “हामीले तिमीलाई सारा संसारका लागि रहमत बनाएर पठाएका छौँ” भन्ने भावार्थ प्रकट हुन्छ।७

छोटकरीमा, हजुर रसूलुल्लाहले पाँच ठाउँमा शफाअत गर्नुहुनेछ।८

पहिलो: “मकामे महमूद” भनिने आफ्नो शफाअतले सबै मानिसलाई महशरमा पर्खनुपर्ने अजाबबाट बचाउनुहुनेछ।९

दोस्रो: आफ्नो शफाअतले धेरै मानिसलाई हिसाबबिना जन्नतमा पठाउनुहुनेछ। तेस्रो: धेरै पाप भएका मोमिनहरूलाई जहन्नमबाट निकाल्नुहुनेछ। चौथो: सवाब र पाप बराबर भएर “आराफ” भनिने ठाउँमा पर्खिरहेकाहरूलाई जन्नत पठाउन शफाअत गर्नुहुनेछ। पाँचौँ: जन्नतमा भएकाहरूको दर्जा उचालियोस् भनेर शफाअत गर्नुहुनेछ।

शफाअत गरेर हिसाबबाट बचाउनुभएका सत्तरी हजार मानिसमध्ये हरेकको शफाअतले पनि सत्तरी-सत्तरी हजार मानिस हिसाबबिना जन्नतमा पस्नेछन्।

शफाअत, या रसूलल्लाह!
साह्रै खाँचोमा छु, तपाईँकहाँ आएँ,
शफाअत, या रसूलल्लाह!
मेरो दोष के हो, मैले बुझेँ,
शफाअत, या रसूलल्लाह!
पापी हुँ, मेरो अनुहार कालो छ,
सायद म नारमा फालिनेछु,
उपाय त तपाईँबाटै होला,
शफाअत, या रसूलल्लाह!
तपाईँको माया हरेक कुराभन्दा उत्तम छ,
तपाईँको ज्ञान सबैभन्दा उच्च छ,
तपाईँको प्रशंसा गर्ने त मौला हुनुहुन्छ,
शफाअत, या रसूलल्लाह!
मानिसले तपाईँको प्रशंसा कसरी गरोस्?
इहसान त तपाईँबाटै होला,
हामीलाई गुहार दिनुहोस्, दया गर्नुहोस्!
शफाअत, या रसूलल्लाह!
तपाईँबिना मेरा लागि संसार कैदखाना,
मेरो काम बिग्रेको छ, हाल नराम्रो,
औषधि त तपाईँबाटै होला,
शफाअत, या रसूलल्लाह!
यो संसारमा तपाईँले उज्यालो छर्नुभयो,
तपाईँमाथि सलात र सलाम होस्,
मरेका र जिउँदा मुसलमानलाई
शफाअत, या रसूलल्लाह!
पक्कै मेरा अवज्ञा धेरै छन्,
म असमर्थ पनि छु, अधुरो पनि,
तर मेरो ईमान सच्चा छ,
शफाअत, या रसूलल्लाह!
जहन्नम उम्लिएर पोखिँदा
शिरमा के आइपर्ला, थाहा छैन,
जिहाद गर्ने साथीलाई
शफाअत, या रसूलल्लाह!
मेरा आँखाबाट पर्दा हटोस्,
सबै दुःखको औषधि तपाईँ नै हुनुहुन्छ,
मोमिन हरेक व्यक्तिलाई
शफाअत, या रसूलल्लाह!
तपाईँको शानमा “लौलाक” भनियो,
फेरि “आतैनाक” भनियो,
“अरसल्नाक”का शाह तपाईँ नै हुनुहुन्छ,
शफाअत, या रसूलल्लाह!
हाम्रो धर्म फैलाउनेहरूलाई,
तपाईँको सुन्नत पालन गर्नेहरूलाई,
तपाईँको बाटोमा शिर सुम्पनेहरूलाई
शफाअत, या रसूलल्लाह!
तपाईँको उम्मतका तुच्छलाई,
शुक्र गर्नेलाई, जिक्र गर्नेलाई,
धनीलाई, गरिबलाई
शफाअत, या रसूलल्लाह!
मुहम्मद हादिमी (रहमतुल्लाहि अलैह)

“तिमी हरेक उम्मतलाई जनाबे हकको डरले घुँडा टेकेर बसेको देख्नेछौ। हरेकलाई संसारमा गरेका अमलहरूको किताबतर्फ बोलाइन्छ” जासिया: २८